सडक निर्माण अलपत्र भएपछि बुटवलका स्थानीय आन्दोलित
बुटवल : निर्माण सुरु भएको वर्षौं बित्दा समेत सडक बीचमै अलपत्र परेको भन्दै बुटवल योगिकुटीका स्थानीय आन्दोलित भएका छन्।
बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सिमानामा रहेको सडक स्तरोन्नती तथा बिस्तार गर्ने गरी काम सुरु भएको बुटवल धागो कारखाना - योगिकुटी मगरघाट सडक बिस्तार अलपत्र परेपछि स्थानीय बासिन्दाले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।
सडक किनारमा घर रहेका तथा उक्त सडक विस्तारबाट प्रभावितहरुले सडक निर्माण कार्य तत्काल सुरु गर्न दवाव दिने उद्देश्यले पूर्णानन्द गिरीको नेतृत्वमा बुटवल धागोकारखाना - योगिकुटी मगरघाट सडक संघर्ष समिति गठन गरेर आन्दोलन सुरु गरेका हुन्।
संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा सडक निर्माणको जिम्मा लिएका ठेकेदारले काम गर्दागर्दै पनि सरकारबाट पैसा नपाउँदा काम रोकिएको बताइएको छ।
डिभिजन सडक कार्यालयका अनुसार संघीय सरकार मातहत रहेको यो परियोजना प्रदेश सरकारमा हस्तान्तरण भए पनि सडकको ठेक्का हस्तान्तरण नहुँदा समस्या भएको हो।
‘सडक हामी कहाँ छ पैसा छैन, यो सडक बनाउने जिम्मा लिएको तराइ मधेस पूर्वाधार सडक परियोजना संघीय सरकारले प्रदेशमा हस्तान्तरण गरेको छ तर यो ठेक्का हस्तान्तरण गरेको छैन त्यसैले समस्या भयो,’ डिभिजन सडक कार्यालयका इन्जिनियर महेश्वर लम्सालले भने।
२०७८ सालमा २ वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरि सडक निर्माण कार्य अगाडि बढाइएको थियो।
बुटवल उप महानगरपालिका को वडा नं १०, ११ र तिलोत्तमा नगरपालिकाको २, ३ वडा भित्र पर्ने उक्त सडक बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सीमा मार्गको रुपमा रहेको छ। यस बाटोलाई बुटवल धागो कारखाना, योगिकुटी हुँदै तामनगर सम्मको (बुटवल लिंक रोड सडक) को अवधारणाका साथ बिस्तार कार्य अगाडि बढाइएको थियो।
स्थानीयका अनुसार यसअघि २७ फुट चौडाइ मात्र रहेको उक्त सडक निर्माणका लागि स्थानीय घरधनीहरूले आ-आफ्नो जग्गामा बनेका घर समेत भत्काउन सहमत भई सडकको मापदण्ड अनुसार ५० फुट कायम गरेका थिए।
असार ३, २०८० आइतबार ११:२१:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।