सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि ऐन कार्यान्वयनमा चुनौती

सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि ऐन कार्यान्वयनमा चुनौती

कास्की : गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री सुशीला सिंखडाले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्वयनमा सरकार दृढ रहने बताएकी छन्।

स्वास्थ्य पत्रकार मञ्चले शनिबार पोखरामा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले जनताको स्वास्थ्यको विषय भएकाले सुर्तीजन्य पदार्थ नियमनका लागि कानुन कार्यान्वयन गर्न आफ्नो भूमिकामा कुनै कमी नहुने बताइन्।

‘जनताको स्वास्थ्यसँग सम्बन्धित विषय हो। यसलाई निष्कर्ष निकाल्ने कुरामा मेरो जहिले सहयोग रहन्छ,’ मन्त्री सिंखडाले भनिन्, ‘यो कानुन लागू गर्नुपर्छ भन्नेमा मेरो भूमिका एक प्रतिशत पनि कम हुँदैन।’ 

ऐन कार्यान्वयनमा आफ्नो मात्रै हात नहुने भएकाले सबै क्षेत्रमा यो सन्देश पुर्याउनु पर्ने उनको भनाइ छ। उनले किशोर–किशोरीहरुमा धुम्रपानको लत धेरै देखिएको भन्दै आफ्ना सन्तानलाई संस्कार सिकाउन आवश्यक रहेको बताइन्।

हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनबाट ८० लाख मान्छे मर्नु सामान्य कुरा नभएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल अस्पतालका निर्देशक प्रा.डा. भरत खत्रीले बताए।

नेपालका करिब एक तिहाइले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्यांक रहेको छ भने पुरुषको तुलनामा सुर्तीजन्य पदार्थ सेवन गर्ने महिला कम रहेको पाइएको छ।

सुर्तीजन्य पदार्थ सेवन गर्ने मध्ये ७५ प्रतिशतलाई यो हानिकारक छ भन्ने जानकारी भएको अध्ययनले देखाएको छ​​​​​​। तर धुम्रपानको लत लागेका ४ प्रतिशतले मात्रै यो छाड्न सकेका तथ्य रहेको छ।

विश्वमा मृत्यु हुने मध्ये ७१ प्रतिशतको र नेपालमा ६६ प्रतिशतको मृत्यु नसर्ने रोगबाट हुने गरेको एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले जानकारी दिए। धेरै नसर्ने रोग लाग्नुको कारण सुर्तीजन्य पदार्थको सेवन रहेको पनि उनले बताए।

असार ३, २०८० आइतबार १०:३५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।