पाँचथरमा बाढीले पाँच जना बेपत्ता, पुल बगाउँदा मेची राजमार्ग अवरुद्ध

पाँचथरमा बाढीले पाँच जना बेपत्ता, पुल बगाउँदा मेची राजमार्ग अवरुद्ध

पाँचथर : गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन्।

त्यसैगरी बाढीले मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल समेत बगाएको छ।

बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन्।

हेवाखोला पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए।

त्यसैगरी तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएको छ। याङ्वरक गाउँपालिका–३ र २ मा घर बगाएको स्थानीयले बताएका छन्। यस्तै फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

फालेलुङ-३ खोलाघारी सेपीमा भने पहिरोले पुरेको बालिकाको सकुशल उद्धार गरिएको वडाध्यक्ष शक्ति केरुङले बताए।

असार ३, २०८० आइतबार ०८:४४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।