जिम्बावेलाई हराउँदै इतिहास रच्ने योजनामा नेपाल, पहिलो लक्ष्य ‘सुपर सिक्स’मा पुग्ने

जिम्बावेलाई हराउँदै इतिहास रच्ने योजनामा नेपाल, पहिलो लक्ष्य ‘सुपर सिक्स’मा पुग्ने

काठमाडौं : यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा सामेल हुने २ टिम छान्नको लागि आजदेखि जिम्बावेमा विश्वकप छनोट प्रतियोगिता सुरु हुँदैछ।

नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा आज घरेलु टोली जिम्बावेसँग भिडन्त गर्दैछ। जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा हुने खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजे सुरु हुनेछ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाललाई पहिलो खेल नै त्यति सहज नहुने पक्का छ। एक त जिम्बावे टेस्ट राष्ट्र, दोस्रो घरेलु टिम, तेस्रो यो प्रतियोगिताको उपाधिसँगै विश्वकपमा छनोटका लागि प्रबल दाबेदार मानिएको टिम।

यस्तो छ इतिहास

नेपालले टेस्ट राष्ट्रसँग एकदिवसीय खेल खेल्न लागेको यो नै पहिलो पटक हो। तर पनि पछिल्लो समय एकदिवसीय खेलमा राम्रो लयमा रहेको नेपाल आज पहिलो पटक जिम्बावेलाई हराउँदै इतिहास रच्ने दाउमा छ।

एकदिवसीय वरियतामा जिम्बावे ११ औं स्थानमा छ भने नेपाल चार स्थान तल १५ औं स्थानमा छ।

इतिहास हेर्दा नेपालले हालसम्म जिम्बावेलाई कुनै पनि फर्म्याटको क्रिकेटमा हराउन सकेको छैन। यसअघि जिम्बावेसँग खेलेका दुई टी-२० र एक लिष्ट ए (५० ओभर) को खेलमा नेपाल पराजित भएको थियो। 

नेपालले सन् २०१८ को विश्वकप छनोटमा जिम्बावेसँग ५० ओभरको खेल खेलेको थियो। त्यस खेलमा नेपालले एकदिवसीय मान्यता पाएको थिएन। उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो।

पहिलो नजर सुपर सिक्समा 

यस छनोट प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा आयोजक जिम्बावे र वेस्ट इन्डिजसँगै अमेरिका र नेदरल्यान्ड्स छन्। समूह ‘बी’ मा भने श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, यूएई, र ओमान रहेका छन्।

दुवै समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने छन्। यसपछि भने सुपर सिक्समा अर्को समूहबाट आएका तीन टिमसँग खेल हुनेछ। यसपछिको अंक तालिकाको आधारमा फाइनलमा पुग्ने २ टिमले विश्वकप खेल्न पाउने छन्।

नेपालको पहिलो लक्ष्य भनेको कम्तीमा सुपर सिक्ससम्म पुग्नु हो। यदि नेपालले आफ्नो समूहमा रहेका उपाधिका प्रबल दाबेदार दुई टेस्ट राष्ट्र जिम्बावे र वेस्ट इन्डिज बाहेक आफ्नै स्तरका अमेरिका र नेदरल्यान्ड्सलाई मात्र हराउन सके पनि सुपर सिक्स पुग्ने नेपालको सम्भावना निकै बलियो हुनेछ।

सुपर सिक्समा पुग्न सके श्रीलंका लगायतका टिमसँग थप तीन खेल खेल्ने मौका नेपालले पाउने छ।

प्रमुख खेलाडी

आज जिम्बावेसँग खेल जित्न विशेष गरि नेपालको ब्याटिङ चल्नु आवश्यक छ। टप अर्डरका ब्याटर, ओपनर आसिफ शेख र कुशल भुर्तेलसँगै कप्तान रोहित पौडेल र आरिफ शेख लगायतका ब्याटरमध्ये कसैले लामो साझेदारी गर्नु आवश्यक देखिन्छ।

त्यसैगरी बलिङमा नेपाली टिमका हतियार मानिएका सन्दीप लामिछानेबाट टिमले राम्रो प्रदर्शनको आशा राखेको छ। जसलाई तीब्र गतिका बलर सोमपाल कामी र करण केसी लगायतको साथ रहेनछ।

उता भर्खरै आईपीएल खेलेर फर्किएका जिम्बावेका अनुभवी खेलाडी सिकन्दर राजा र रायन बर्लको ब्याटिङ नेपालको लागि घातक हुन सक्छ।

टिमको तयारी

विश्वकप छनोट खेल्नु अगाडि दक्षिण अफ्रिकामा एक हप्ताको तयारी पछि नेपालले दुई वटा अभ्यास खेल खेलेको थियो। जसमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो। दुवैमा नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकेको थिएन।

यसपछि विश्वकप छनोटका लागि जिम्बावे गएको नेपाली टिम पहिलो आधिकारिक अभ्यास खेलमा पनि यूएईसँग ३ विकेटले पराजित भएको थियो। यूएईविरुद्ध नेपालले २७५ रन बनाए पनि स्कोर डिफेन्ड गर्न सकेन।

लगातार तीन अभ्यास खेल हारेको नेपालले अन्तिम अभ्यास खेलमा भने ओमानलाई दुई विकेटले हराउँदै प्रतियोगिता अघि आत्मविश्वास बटुलेको थियो।

असार ३, २०८० आइतबार ०८:२८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।