१ सय रुपैयाँभन्दा बढीको वस्तुमा भन्सार : उपभोक्ताको ढाड सेक्दैमा नेपाली बजार बन्ला गुल्जार?

१ सय रुपैयाँभन्दा बढीको वस्तुमा भन्सार : उपभोक्ताको ढाड सेक्दैमा नेपाली बजार बन्ला गुल्जार?

बुटवल : मानिसको ठेलमठेल हुने रुपन्देहीको सीमावर्ती बजार सुनौली हिजोआज सुनसानझैँ देखिन्छ। दैनिक उपभोग्य वस्तु किनमेलका लागि लस्करै जाने नेपाली अहिले फाट्टफुट्ट मात्र सुनौली पुग्छन्। 

१ सय रुपैयाँभन्दा बढीका वस्तुमा भन्सार कर अनिवार्य गरिएपछि सुनौली बजारमा चहलपहल ह्वात्तै घटेको हो। 

घरायसी वस्तु किनमेल गर्न जानेहरूलाई भन्सारमा कर लगाइएपछि उनीहरू नेपालमै सामान किन्न बाध्य भएका हुन्। 
सीमा नाकाको कडाइले भारतीय बजारमा त्यसको प्रत्यक्ष असर पुगेको हो। सीमावर्ती बजारका अधिकांश ग्राहक नेपाली हुन्।

तर भन्सारको यो नियमले किनमेलका लागि सुनौली पुग्नेहरू खुसी भने छैनन्। उनीहरूले नेपालमै कम मूल्यमा वस्तु उपलब्ध गराउनुपर्ने भन्दै आक्रोश पनि व्यक्त गरिरहेका छन्। 

सुनौलीमा बजार भर्न जानेहरू प्रायः न्यून आयस्रोत भएकाहरू हुन्। बिहान(साँझ काम गरेर गुजरा चलाउनेहरूलाई सस्तो मूल्यमा किनमेल गर्न सुनौली पुग्ने गरेका थिए। 

तर भन्सारको यो नियमले त्यस्ता वर्गलाई प्रत्यक्ष असर पुगेको छ। 

‘सरकारले नेपालीलाई सस्तोमा गुणस्तरीय वस्तु नेपालमै उपलब्ध गराए यो गर्मीमा यहाँ आउने काम हुदैनथ्यो। तर राज्यले दिनुपर्ने आधरभूत सुविधा नदिएर अहिले यो नियम लगाएर राजस्व उठाउन थालेको छ,’ बेलहियामा भेटिएकी बुटवल सुक्खानगरकी मनिषा रानाले भनिन्।

खासमा भन्सार कार्यालयले भारतीय बजारबाट विनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजस्वसमेत सुक्दै गएपछि सीमा नाकामा कडाइ गरेको हो। 

तर न्यून आयस्रोत भएका नेपाली भन्सार कार्यालयले पेटमा लात बझारेको दुखेसो गर्छन्। 

देवदह चरंगेकी निशा पाल ज्यालादारीमा काम गर्छिन्। ज्यालावापत दैनिक ८ सय रुपैयाँ कमाउने उनी थोरै रकम बचाएर दैनिक उपभोग्य सामान खरिदका लागि सुनौली पुग्ने गर्थिन्। तर अब सुनौली आउने उनको बाटो रोकिएको छ। 
भन्सार कार्यालयले उनले किनेको २ केजी चिनीमा पनि भन्सार लगाइदिएको छ।

‘भन्सार लगाउँछ भनेर सुने पनि एक पटक पुगौँ भनेर आएँ। ५ केजी चिनी खरिद गर्दा २५० रुपैयाँ राजस्व नै लाग्यो। अब यहाँ आएर यसरी भन्सार गरेर सामान लैजान सकिँदैन। सरकारले केही विकल्प नदिएर यस्तो नियम लगाउनु भनेको हामीजस्ता गरिबको पेटमा लात हान्नुसरह हो’, उनले भनिन्।

भन्सारको यो नियमले ठूला व्यापारीहरू भने खुसी छन्। नेपालीलाई नेपालकै बजारमा किनमेल गर्न यो नियमले बाध्य पारेको उनीहरूको तर्क छ। 

सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ भन्सारको यो नियमले नेपाली बजार चलायमान हुने र अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताउँछन्। व्यवसायीले बारम्बार राख्ने गरेको मागलाई भन्सार कार्यालयले अहिले कार्यान्वयनमा ल्याएकोमा उनले खुसी व्यक्त गरे। 

अहिले भैरहवा भन्सार कार्यालयले १ सय रुपैयाँभन्दा बढीको सामान किनेर ल्याउँदा अनिवार्य भन्सार शुल्क तिर्न आग्रह गर्दै सूचना निकालेको छ। तर कतिपय नेपाली भन्सार नतिर्न भन्सारका कर्मचारीहरूसँग झगडा गर्ने गर्दछन्।

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम अर्याल नेपाली बजारलाई चलायमान बनाउनकै लागि १ सयभन्दा बढी मूल्यका वस्तुमा यो अनिवार्य गरिएको बताउँछन्। ‘धेरैले राजस्वका लागि गरेको भने पनि हाम्रो मूल उद्देश्य नेपाली बजारमा नेपालीले किनमेल गरून् भन्ने हो, देशको अर्थतन्त्रमा टेवा पुगोस भन्ने हो’, उनले भने।

भन्सार कार्यालयले कुनै पनि नेपाली उपभोक्ताले भन्सार जाँचपास नगराएर सामान लगे भन्सार कार्यालयले भन्सार ऐन २०६४ अनुसार चोरी पैठारी कसूरमा कारबाही गर्ने जनाएको छ। 

नेपालमा एक सय रुपैयाँभन्दा बढी मूल्यका कुनै पनि सामान आयात गर्दा अनिवार्य भन्सार महसूल तिर्नुपर्ने कानूनी प्रावधान बनाइएको थियो। तर, व्यवहारिक पक्ष भन्दै यसअघि यो नियम कडाइका साथ कार्यान्वयन गर्ने गरिएको थिएन। 
भन्सार कार्यालयका प्रमुख अर्यालका अनुसार भैरहवा भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकिरहेको छैन।

गिरावट हुँदै राजस्व

भैरहवा भन्सार कार्यालयको राजस्वमा गिरावट आएको छ। त्यही कारण पनि दैनिक उपभोग्य वस्तु किनमेलका लागि आउने नेपाली उपभोक्तालाई अनिवार्य भन्सार कर लगाइएको हो। 

गत आर्थिक वर्षको वैशाख मसान्तसम्म ९८ अर्ब बढी राजस्व संकलन भएकोमा यस वर्ष ३६ अर्ब काम अर्थात् जम्मा ६२ अर्ब रुपैया राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षमा १ अर्ब ५५ अर्ब ६० करोड रुपैया राजस्व संकलनको लक्ष्य भन्सार कार्यालयलाई तोकेको छ। तर १० महिनाको अवधिमा कुल लक्ष्यको जम्मा ४० प्रतिशत मात्र राजस्व उठेको छ। 

गत आर्थिक वर्षको वैशाख मसान्तसम्म यहीँबाट २ खर्ब ५ अर्ब ५१ करोड ९३ लाख ३१ हजार मूल्य बराबरको सामान आयात भएकोमा अहिले १ खर्ब २७ अर्ब ५७ करोड ६३ लाख ५३ हजारको आयात भएको र ६ अर्ब ७५ करोड ७६ लाख ४६ हजार मूल्य बराबरको निर्यात भएको थियो।

लुम्बिनी प्रदेशका अन्य नाकाहरूमा पनि कडाइ

रुपन्देहीको सीमावर्ती बजार सुनौलीबाट किनमेल गर्नेहरूलाई मात्र कडाई नगरी लुम्बिनी प्रदेशका मुख्य नाकाहरूमा कडाई गरिएको छ। सुनौलीसहित बाँकेको नेपालगञ्ज, पश्चिम नवलपरासीको महेशपुर, कपिलवस्तुको कृष्णनगर नाकामा १०० रूपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउन थालिएको छ।

नेपालगञ्ज भन्सार कार्यालय, बाँकेका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले नाकामा अहिले कडाइ गरी सामान खरिद गरेर आउनेहरूलाई अनिवार्य सामानहरूको भन्सार शुल्क तिर्न लगाइएको बताए। 

भन्सारको यो नियमले भारतीय रूपैडिया बजार पहिलेको तुलनामा ५० प्रतिशतभन्दा बढी चहलपहलमा कमी आएको उनले बताए। कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुका प्रमुख गगनबहादुर विकेले नेपाली बजारलाई चलाउन बनाउनकै लागि नेपाली उपभोक्तालाई भारतबाट सामान ल्याउँदा भन्सार अनिवार्य गरिएको बताए।

साना नाकाबाट भने धमाधम सामान आयात

भन्सार कार्यालयले मुख्य नाकामा चेकजाँच कडाइ गरे पनि भित्री साना नाकाहरूबाट भने धमाधम तस्करहरूले विनाभन्सार लुकिछिपी सामान भित्र्याउने गरेका छन्। रुपन्देहीको बेलहिया नाकाबाहेक दर्जन बढी साना नाका छन्। ती नाकाबाट अहिले तस्करहरूले मुख्य नाकामा कडाइ भएको फाइदा उठाउँदै आएका छन्।

तस्करहरूले कदमहवा, बगौली, हरिनगढ, वंशी डिहवा, करौता, ठोठरी, तरैनी, खैराघाट, कञ्चनपुर, दुईमोहना, हर्दीडाली, बनगाई नाकाबाट सामान भित्र्याउने गरेका छन्।

त्यस्तै सेमरपानी, भुजौली, पिपरहिया, केवटिलया, शंकरपुर, मेउडिहवा, नौडिहवा, बगहा, मैनिहवा, फरेनियालगायत नाकाबाट तस्करी गर्ने गरेका छन्।

भारतीय भूमि फरेनियामा बुधबार र शनिबार बजार लाग्ने गर्दछ। त्यो बजारका अधिकांश उपभोक्ता नेपाली हुन। सीमा नाकामा कडाइ भए पनि फेरिया बजारबाट उपभोक्ताले सहजै सामान खरिद गर्दै आएका छन्। त्यही बजारबाट भरिया र तस्करहरूले सामान बजार कटाउने गरेका छन्।

फरेनिया बजार लाग्दाको दिन सशस्त्र प्रहरीले दिउँसो कडाइ गरे पनि साँझ भने त्यति कडा चेकजाँच हुँदैन। त्यही कारण साँझ पर्नासाथ भरिया र तस्करहरूको ताँती लाग्ने गरेको छ।

असार ३, २०८० आइतबार ०७:२१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।