डा. विकासको उपचार अनुभव : पाठेघर फुटेर गर्भपतन भएकी महिलालाई बचाएको त्यो पल...

डा. विकासको उपचार अनुभव : पाठेघर फुटेर गर्भपतन भएकी महिलालाई बचाएको त्यो पल...

डा. विकास गौचन जनरल प्राक्टिस्नर चिकित्सक हुन्। उनको चिकित्सकीय विधा जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजीपी) हो।

अधिकांश किसिमका रोगको प्राथमिक रूपमा पहिचान गर्छन् उनी। त्यसपछि आफ्नो विधाको ज्ञान तथा सीपले भ्याएसम्म बिरामीको उनी आफैँ औषधि उपचार गर्छन्। अनि रोगको प्रकृति तथा जटिलता र आवश्यकता अनुसार विशेषज्ञ चिकित्सककहाँ बिरामीलाई रिफर गर्नु उनको चिकित्सकीय विधाको काम हो।

त्यसैले त एमडीजिपी अध्ययन गरेका चिकित्सकलाई सबै रोगको उपचार गर्ने चिकित्सकका रूपमासमेत चिनिन्छ। डा. विकासले चिकित्सकीय पेशाको सिलसिलामा देखेभोगेका अनुभव उकेरासँग साटे।

२४ वर्षपछि जोडियो भाँचिएको गोडा
केही वर्षअघि डोटीका करिब ४५ वर्षका पुरुष उपचारका लागि अछामको बयलपाटा अस्पतालमा आए। आर्थिक अवस्था कमजोर भएका ती पुरुष २४ वर्षदेखि गोडा भाँचिएर थलिएका रहेछन्। उनको बायाँ गोडाको घुँडाभन्दा तल नलीखुट्टाको भाग भाँचिएको रहेछ।

ती पुरुषको लडेर हड्डी भाँचिएको रहेछ। तर, आर्थिक अभावका कारण उनी सुविधासम्पन्न अस्पतालमा जान सकेका रहेनछन्। भाँचिएको खुट्टा नै छोटोसमेत भएको थियो। जसले गर्दा उनको जीवन नै कष्टकर बनेको थियो। एकातर्फ रोग, अर्कातर्फ खेतीपातीको काम पनि गर्न नसक्दा उनको आर्थिक अवस्था जरजर भएको थियो।

तर, ती पुरुषको गोडाको शल्यक्रिया त गर्नु नै थियो। डा. विकासको टिमले पुरुषको स्वास्थ्य परीक्षण गरी शल्यक्रियाको जाँजोपाँजो मिलायो। भाँचिएको गोडामा एक किसिमको रड हालेर गोडा टेक्न सक्नेगरी शल्यक्रिया गरेपछि उनलाई डिस्चार्ज गरियो।

उपचार प्रक्रिया थालेको करिब दुई महिनापछि ती पुरुष हिँडडुल गर्न सक्ने भए। एक पटक फलोअपमा आउँदा उनी हिँडेरै आएको र चिकित्सकको टिमप्रति कृतज्ञता व्यक्त गरेको डा. विकासले स्मरण गरे।

‘पैसाको अभावले १८ वर्षीया गर्भवतीले घरमै प्राण त्यागिन्’
केही वर्षअघि बयलपाटा अस्पतालमा करिब १८/२० वर्षकी गर्भवतीको मृत्युको घटनाले पनि डा. विकासको छाती चसक्क हुन्छ। आठ महिनाकी गर्भवतीमा मुटुसम्बन्धी समस्या थियो।

स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएकी गर्भवतीको डा. विकासको टिमले ज्ञान, स्रोत र साधानले भ्याएसम्म उपचार गर्दै काठमाडौंको गंगालाल अस्पतालमा गएर थप उपचार गर्न सुझाए।

गर्भवतीका परिवार पनि डा. विकासको सुझावमा विश्वस्त भए र काठमाडौं लान सहमत भए।

‘खर्चपर्च जम्मा गर्छौं अनि काठमाडौं जान्छौं’ भन्दै बयलपाटा अस्पतालबाट घर फर्किएकी गर्भवतीलाई मुटुको समस्याले झन् च्यापेछ। अस्पतालबाट फर्केको करिब एक हप्तापछि ती गर्भवतीको मृत्यु भएछ। डा. विकासले पनि सुने यो खबर।

काठमाडौंको अस्पताल लैजानका लागि पैसा जम्मा गर्दागर्दै उनको मृत्यु भएको परिवारका सदस्यले उनलाई सुनाएका थिए। मृत्युको खबरले उनको मन भारी भयो।

अछाममा एक पटक त एकै वर्षमा पाँच जना गर्भवतीको ज्यान बचाउन नसकेको प्रसङ्ग सुनाए डा. विकासले। आर्थिक अभाव र जनचेतना अभावले मातृ मृत्यु हुने गरेको अछाम बसाइका क्रममा उनले नजिकबाट नियाल्न पाए।

पाठेघर फुटेर गर्भपतन भएकी महिलालाई बचाउँदाको त्यो पल...
जिल्ला अस्पताल मंगलसेनबाट बयलपाटाको दूरी करिब तीस किलोमिटरको हो। बयलपाटाबाट मंगलसेनमा रहेको जिल्ला अस्पतालमा पुगेर बिरामी बचाएको एउटा प्रसङ्ग उनी कहिल्यै भुल्दैनन्।

अछामको पूर्वी भेगकी करिब ३५ वर्षकी महिलालाई सुत्केरी ब्यथाले च्यापेपछि जिल्ला अस्पताल मंगलसेनमा पुर्याइएछ। अस्पताल पुर्याउँदा ती महिलाको अत्याधिक रक्तश्राव भइहरेको थियो।

अस्पतालमा स्वास्थ्य परीक्षणपछि पाठेघर नै फुटेर ती महिलाको रक्तश्राव भएको थाहा भयो। जसले गर्दा गर्भको बच्चाको पनि मृत्यु भइसकेको थियो। स्वास्थ्य अवस्था जटिल भइसकेकाले तुरुन्त शल्यक्रिया गर्नुपर्ने भयो।

ढिला नगरी मंगलसेनस्थित जिल्ला अस्पतलका चिकित्सकहरूले महिलाको शल्यक्रिया गर्न थाले। शल्यक्रियाका क्रममा जटिलता निम्तियो। त्यसपछि सहयोगका लागि डा. विकासलाई खबर पुग्यो र उनी तुरुन्तै मंगलसेनतर्फ लागे।

दिउँसोको समय थियो। एम्बुलेन्समा करिब ४५ मिनेटमा उनी त्यहाँ पुगे। डा. विकासले पनि जिल्ला अस्पतालको टिममा सहभागी भएर शल्यक्रियामा सघाउन थाले।

ती महिलाको गर्भमा रहेको मृत बच्चा निकालियो। पाठेघर पनि निकालेर फालियो। शल्यक्रिया सफल भयो अनि महिला बाँचिन्।

जन्म मुस्ताङ, अध्ययन डाक्टरी
विकास मुस्ताङ जिल्लाको हालको खासाङ गाउँपालिकास्थित लेतेको कालोपानीमा २०४० मा जन्मिएका हुन्।

स्थानीय ज्ञानोदय माविबाट २०५६ मा एसएलसी पास गरेका उनी त्यसपछि काठमाडौं आए। एडमार्क एकेडेमीबाट प्लस टु गरेका उनी त्यो ब्याचमा सर्वोत्कृष्ट नै भए।

सानैदेखि डाक्टर बन्ने रहर गरेका उनी सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् २००३ मा एमबीबीएस अध्ययनका लागि भर्ना भए। छात्रवृत्ति कोटामा सन् २००९ मा एमबीबीएस अध्ययन सके।

त्यसपछि एक वर्ष प्रतिष्ठानमा नै करार मेडिकल अधिकृतका रुपमा जागिरेका रुपमा काम गरेका उनी सन् २०१० मा अछामको बयलपाटा अस्पतालमा काम गर्न पुगे।

छनोटमा सबै रोगको उपचार गर्ने विधा
बयलपाटामा उनले करिब एक वर्ष काम गरे। त्यसपछि डा. विकास थप अध्ययनका लागि धरान नै पुगे। उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् २०११ मा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको एमडी अध्ययन थाले।

डा. विकासको रोजाइमा पर्यो जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन अर्थात एमडीजीपी। सन् २०१४ मा उनको छात्रवृत्तिमै एमडीजीपी अध्ययन पूरा गरे। अध्ययन सकेपछि डा. विकास फेरि अछामको बयलपाटा अस्पताल पुगेर सन् २०२० सम्म लगातार करिब साढे ६ वर्ष काम गरे।

२०७७ मा गण्डकी प्रदेश सरकारले प्रादेशिक संक्रामक तथा सरुवा रोग अस्पताल सञ्चालनमा ल्याएसँगै उनी पाँच वर्षका लागि त्यहाँको कार्यकारी निर्देशकको रूपमा नियुक्त भए। उनले त्यहाँको नियुक्ति लिँदा नेपालमा कोरोना संक्रमण उच्च विन्दुमा थियो।

डा. विकासले बेलायतको युनिभर्सिटी अफ लिभरपुलबाट जनस्वास्थ्य विषयमा ‘स्वास्थ्य प्रणालीको व्यवस्थापन’को बारेमा स्नातकोत्तर तह अध्ययन गरेका छन्। जुन विषयलाई ‘मास्टर्स इन पब्लिक हेल्थ’ पनि भनिन्छ। एमडीपछि यो अध्ययन उनले अनलाइनबाट नै लिएका रहेछन्।

त्यसैगरी अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट उनले ग्लोबल हेल्थ विषयमा फेलोसिप समेत गरेका छन्। दुई वर्षे फेलोसिप उनले एक पटक अमेरिका गएर बाँकी समय नेपालबाट नै अनलाइनको माध्यमबाट गरेका हुन्।

ग्लोबल हेल्थ विषयको अध्ययनले स्वास्थ्यमा भएका अभ्यास, नेतृत्व क्षमता, विभिन्न क्षेत्रमा भएको स्वास्थ्य सेवाको भिन्नताको अवस्थाको कारण लगायतका ज्ञान सिक्ने मौका पाएको उनले सुनाए।

त्यसैगरी हार्वर्ड मेडिकल स्कुलबाट समेत स्वास्थ्य क्षेत्रमा दिइने अनुदान लगायतको विषयमा समेत उनले फेलोसिप गरेका छन्।

असार २, २०८० शनिबार २०:०७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।