अमेरिका पठाइदिन्छु भन्दै १ करोड ६१ लाख ठगीको आरोपमा दुई महिला पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै १ करोड ६१ लाख ठगीको आरोपमा दुई महिला पक्राउ

काठमाडौं : अमेरिका पठाइदिन्छु १ करोड ६१ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई महिलालाई काठमाडौंबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ बौद्ध बस्ने ४५ वर्षीया निर्मला महर्जन र बारा जितपुर सिमरा उपमहानगरपालिका–१ बस्ने २६ वर्षीया अल्पा ढकाल रहेका छन्।

अमेरिकामा रहेको भारतीय होटल तथा रेष्टुरेण्टमा मासिक २ हजार देखि ३ हजार डलर सम्मको जागिर लगाइदिन्छु भन्दै ३६ जना पीडितहरूको १ करोड ६१ लाख २० हजार ५ सय रूपैयाँ ठगी गरेको भन्ने जाहेरीको आधारमा महर्जन र ढकाललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

उनीहरूले अमेरिका बस्दै आएका प्रतिवादी मध्येका टंकराज बस्नेतमार्फत काम गर्ने गरेको खुलेको छ।

बस्नेतले फेसबुक र म्यासेन्जरमा छुट्टाछुट्टै २ वटा प्रोफाइल खोली पीडितसँग चिनजान गरी अमेरिकाको ग्लेनउड स्प्रिङ नामको नेपाली रेष्टुरेन्टमा काम गर्ने गरेको बताउँदै आएका थिए।

साथै उनले प्रोफिट स्टक अप्सन टीएफएक्स नामक अन्तर्राष्ट्रिय कम्पनीमार्फत भारतीय होटल तथा रेष्टुरेण्टमा मासिक २ हजार देखि ३ हजार डलर सम्मको जागिर लगाइदिन्छु भन्दै महर्जन र ढकालमार्फत विश्वास दिलाई उक्त रकम ठगी गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

उनीहरूउपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।

असार २, २०८० शनिबार १६:३९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।