समाजवादी मोर्चाप्रति ओलीको टिप्पणी- लिभिङ टुगेदर त चलिरहेकै छ नि!

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी, एकीकृत समाजवादी लगायतका दलले समाजवादी मोर्चा बनाउन लागेको विषयमा टिप्पणी गरेका छन्।
शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले समाजवादी मोर्चाको कुनै औचित्य नभएको बताउँदै सँगै हिँडिरहेका दलहरुको लिभिङ टुगेदर चलिरहेको टिप्पणी गरेका हुन्।
उनले भने, ‘समाजवादी मोर्चा बनाएर हुन्छ के? तिनै चिनेका मान्छे हुन्, सँगै हिँडिरहेका छन्। लिभिङ टुगेदर त चलिरहेकै छ।’
समाजवादी मोर्चा एमालेसँग मुकाबिला गर्न र कांग्रेस तर्साउन बन्न लागेको उनको धारणा छ।
उनले थपे, ‘गठबन्धनले मात्र नपुगेर एउटा समाजवादी मोर्चा चर्चा रहेछ। समाजवादी मोर्चा के का लागि भन्दा त्यसका दुई वटा उद्देश्य छ। एउटा एमालेविरुद्ध मुकाबिला गर्न र अर्को कांग्रेसलाई तर्साउन।’
राष्ट्रियता, सामाजिक न्याय, लोकतन्त्र र लोकतान्त्रिक राजनीतिक संस्कारको सवालमा एमाले अगाडि रहेको बताउँदै मिसन ८४ मा लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए।
उनले अगाडि भने, ‘देश, विकास र जनताप्रति समर्पित भएको एउटा यस्तो राष्ट्रिय शक्ति बनाउन चाहन्छौं। एमाले केहि समय सकारबाहिर हुनसक्छ, ८४ सम्मलाई सरकार बाहिर एमालेलाई राख्न सकिन्छ तर मिसन ८४ मा एमाले बलियो राष्ट्रिय शक्ति बनेर आउँछ, मिसनमा ८४ मा लाग्नुस्।’
ओलीले जनतालाई राजनीतिप्रति वितृष्णा जगाउने उल्टो बाटो गरिरहेको भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताए। एमाले प्रतिस्पर्धा गर्ने भएकाले नवप्रवेशीलाई क्षमता र योग्यताका आधारमा सबैलाई जिम्मेवारी दिइने बताए।
असार २, २०८० शनिबार १५:०१:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।