मेलम्ची आयोजनाका समस्या समाधान गर्ने प्रचण्डको प्रतिबद्धता

मेलम्ची आयोजनाका समस्या समाधान गर्ने प्रचण्डको प्रतिबद्धता

हेलम्बु : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहाल आज राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न मेलम्ची पुगेका थिए।

स्थलगत अवलोकन गर्न सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहान क्षेत्रमा पुगेका दाहालले याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने विषयमा काठमाडौं पुगेर गृहकार्य गर्ने बताए। त्यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने उनको भनाइ थियो। 

दाहालले आयोजनाको मुहान र मुख्य सुरुङ रहेको अम्बाथानमा मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा जानकारी लिए। आयोजनाका बारेमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी गराए।

उनका साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव पनि मेलम्ची पुगेका थिए। प्रधानमन्त्री दाहालसँगको भेटमा हेलम्बु–१ का वडाध्यक्ष दावा ग्याल्जेन लामाले यस क्षेत्रका स्थानीयले भोग्दै आएका समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्ने बताए।

वि.सं २०७७ चैतमा पहिलो पटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौं उपत्यकामा वितरण थालिएको थियो। वि.सं २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङ बाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो। मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनः मेलम्चीको पानी वितरण थालिएको थियो।  

असार २, २०८० शनिबार १३:५५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।