अस्ट्रेलियामा कमाएको पैसाले व्यक्तिगत लगानीमै अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँदै कुँवर दम्पती
बुटवल : गुल्मीका विनोद कुँवरले रुपन्देहीको तिलोत्तमामा व्यक्तिगत लगानीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने योजना अघि सारेका छन्।
सरकारी तवरबाट गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला बनाउने काम उनी एक्लैले त्यो पनि निजी लगानीमा गर्न लागेका हुन्। जसको नाम दिइएको छ ‘एक्स्ट्राटेक ओभल’ क्रिकेट मैदान।
उनले तिलोत्तमा नगरपालिका वडा नम्बर १७ पूर्व दरखसवामा करिब १० करोड रुपैयाँ खर्च गरेर पाँच बिघा जग्गा खरिद गरी क्रिकेट रंगशाला निर्माण गर्न थालेका छन्।
उच्च शिक्षाका लागि अस्ट्रेलिया पुगेका विनोदले त्यही गरेको मेहनत र पसिनाको मूल्य अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लगाउँदैछन्।
कुँवर क्रिकेटका समर्थक हुन्। उनको क्रिकेट प्रति अति धेरै क्रेज छ। ‘मलाई क्रिकेट खेल अति मन पर्छ। मेरो इन्जिनियरिङ परीक्षा हुँदा समेत मैले क्रिकेट हेर्न छाडिनँ। म मात्र होइन अझ अहिले त नेपालीहरुको बढ्दो क्रेजले पनि मलाई रंगशाला निर्माणमा लाग्न प्रेरित गरेको हो,’ उनले भने।
५ वर्षअघिदेखि क्रिकेट रंगशाला बनाउने योजना सुरु गरेका कुँवरले गत हप्ता मात्र यसको शिलान्यास गरे।
‘हामीले यसलाई चरण चरणमा बनाउँदै लग्नेछौ। पहिलो वर्षमा ५ हजार दर्शक अट्ने प्याराफिट सहित मैदान बन्छ। यसरी क्रमशः बढाउँदै ५ वर्षमा यो रंगशाला पुरा गर्ने योजना छ,’ उनले भने।
नौ वर्ष अस्ट्रेलियामा बिताइसकेका उनले अस्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आईटी) सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट खोलेका छन्। उनी आफैं पनि आईटी इन्जिनियर नै हुन्। यही कम्पनीका कुँवर निर्देशक र उनकी पत्नी सदीक्षा चीफ अपरेटिङ अफिसर हुन्।
नेपलमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेका विनोद त्यो सपना साकार बनाउन अहिले तल्लीन छन्। उनि रुपन्देहीको चर्को गर्मीमा दिनरात नभनी फिल्डमा खटिएका छन्।
मुलतः मैदानले स्वरूप लिइसकेको छ। दुई सातामा झन्डै ८ सय ट्रक माटो हालेर जग्गा सम्याएपछि बल्ल मैदानले स्वरूप लिएको छ।
प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ५ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बनाउने यो योजनामा रंगशालाको स्वरूपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
कुँवर अष्ट्रेलीया जानुपर्ने भएकाले ‘एक्स्ट्राटेक ओभल’ क्रिकेट मैदान र क्रिकेट एकेडेमीको ‘ब्रान्ड एम्बासडर’को जिम्मा नेपालका चर्चित पूर्व क्रिकेटर शक्ति गौचनलाई दिइएको छ। गौचन पनि अहिले मैदान बनाउन खटिएका छन्।
यहाँ बन्ने क्रिकेट रंगशालामा छात्रावाससहितको एकेडमी र ट्रेनिङ सेन्टर हुने र उक्त एकेडमी तथा ट्रेनिङ सेन्टरको सम्पूर्ण जिम्मेवारी गौचनलाई नै दिएको कुँवरले बताए।
कुँवरले अस्ट्रेलियामा स्थापना गरेको ‘एक्स्ट्राटेक ओभल’ले अस्ट्रेलियामा अध्ययन पूरा गरिसकेका विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्नुका साथै उनीहरूलाई योग्यता अनुरुपको काम दिलाउने गर्छ।
अस्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानबिरा, ब्रिसबेन लगायत विभिन्न ठूला सहरमा उनले ‘एक्स्ट्राटेक ओभल’ को शाखा विस्तार गरेका छन्। जसको कमाई उनी रंगशाला बनाउन खर्चदै छन्।
अष्ट्रेलीयामा प्राप्त गरेको सफलताले मात्र उनलाई पूर्ण खुसी दिन सकेन। त्यसैले नेपालमै केही गर्ने हुटहुटीले उनलाई यो महत्वाकांक्षी योजना अघ बढाउन हौसला दिलायो।
‘विदेश गएपछि नेपालको झन् बढी माया लाग्ने रहेछ। पैसा कमाइन्छ, त्यो ठूलो कुरा होइन। मैले मेरो देशलाई गर्नुपर्ने दायित्व के हो भनेर सम्झिरहन्थें,’ विनोदले भने, ‘त्यही दायित्व वहनको योजना यो क्रिकेट रंगशाला हो।’
विनोदले कुनै पनि हालतमा यो परियोजना बीचमा अलपत्र पर्न नदिने अठोट समेत गरेका छन्। देशले गर्नुपर्ने काम एउटा युवाले गर्नुलाई धेरैले सकारात्मक ठानेका छन् उनले।
कतिपयले कतै धुर्मुस सुन्तलीले सुरु गरे जस्तै रंगशाला अलपत्र हुने त होइन भनेर चिन्ता पनि गरेका छन्।
‘हामीले निकालेको स्टीमेट अनुसार प्रत्येक वर्ष रंगशाला थप्दै लैजाने हो। त्यही अनुसार बजेट मैले यसमा खर्च गर्ने हो। त्यसैले यो रंगशाला मैले बनाउँछु। मैले बनाए पनि यो रंगशाला जिल्लाबासीको सम्पत्ति हो,’ उनले भने ।
असार २, २०८० शनिबार १३:२५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।