मुटुमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपतिको अवस्था स्थिर

मुटुमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपतिको अवस्था स्थिर

काठमाडौं : मुटुमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

राष्ट्रपति पौडेललाई त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारका लागि भर्ना गरिएको छ।

सो सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलद्वारा जारी प्रेस विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ।

पौडेलको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकाले अस्पताल भर्ना गर्नुपरेको बताइएको छ।

पौडेलको मुटुमा समस्या देखिएपछि उनलाई शनिबार (आज) पुन: अस्पताल भर्ना गरिएको थियो।

राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहान २ बजे नै त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो। यसपछि थप उपचारका लागि बिहान मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा सारिएको छ।

वैशाखमा नयाँ दिल्लीमा उपचार गराएर फर्किएका राष्ट्रपति पौडेल गत मंगलबार मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराएका थिए।

असार २, २०८० शनिबार ११:०७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।