‘ड्राग शो’ मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सहभागीको र्‍याम्प वाक (तस्बिरहरू)

‘ड्राग शो’ मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सहभागीको र्‍याम्प वाक (तस्बिरहरू)

काठमाडौं : शुक्रबार राति काठमाडौंको दरबार मार्गमा भएको ‘ड्राग शो’ मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका तीन जना विजेता बनेका छन्।

२१ जना सहभागी भएको ड्राग शोमा उत्कृष्ट १० जनाले आफ्नो कला प्रदर्शन गरेका थिए। जसमध्येबाट पवन ‘तृषा’, मनोज ‘एन्टी-फ़्रजाइल’ र नरेश ‘भेलिन्ना’ ले उपाधि जितेका हुन्। 

प्रतियोगीहरुले कार्यक्रममा वातावरणमैत्री पहिरन लगाएर र्याम्प वाक गरेका थिए।

निलहिरा समाज र सेभ द चिल्ड्रेनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा अमेरिका, अष्ट्रेलिया, जर्मनी लगायतका राजदूतसँगै यस समुदायका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो।

यस अघि सन् २०१९ मा नेपालमा पहिलो पटक ‘ड्राग शो’ भएको थियो। ड्राग भनेको कुनै पनि विषयवस्तु केन्द्रित रहेर प्रस्तुत गर्ने कलाको वृहत् र जीवन्त रूप  हो। जसमा हरेक व्यक्तिले आफ्नो भित्री कलाहरुलाई खुलेर प्रस्तुत गर्छन्।

त्यसमा पनि यस समुदायका व्यक्तिहरुले भने ‘फेसियल आर्ट’, केटा केटी बनेर र केटी केटा बनेर आफू प्रस्तुत हुने गर्छन्। गाइजात्रामा देखिने कला पनि ड्राग अन्तर्गत नै पर्छ। 

ड्रागको कोरियोग्राफरसँगै जज मध्येका पनि एक आर्यन चौधरीका अनुसार यसमा फिल्ममा देखिने सुपर हिरोहरूको श्रृंगार पनि पर्ने गर्छ। दोश्रो पटक भएको यस प्रतियोगिताले ‘ड्राग शोर फर भिजिबिलिटी’ नारा बोकेको थियो।

‘हाम्रो समुदायका कतिपय मान्छेहरू अझै पनि खुल्न सकिरहेका छैनन्। कतिलाई त आफू को हो भन्ने पनि थाहा छैन। त्यही भएर उहाँहरूको लागि यो एकदम महत्वपूर्ण हुने गर्छ। आफूलाई चिन्न र खुल्न यसले मद्दत पनि गर्छ,’ चौधरीले बताए।

असार २, २०८० शनिबार १०:२६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।