आफैंलाई ‘भेडा’ उपनाम दिएका नवराज, दैनिक ५ हजार बढी बटुवाको तिर्खा मेटाउँछन्
सुर्खेत : वीरेन्द्रनगर–६ का युवा अभियन्ता नवराज बोहरा (भेडा) हालको प्रचण्ड गर्मीमा बिहानदेखि साँझसम्मै बटुवालाई पानी दिनमै व्यस्त देखिन्छन्।
बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म वीरेन्द्रनगर–६ स्थित मंगलगढी चोकको पिपल चौतारमा बाटो हिंड्ने बटुवालाई पानी खुवाउनु उनको दैनिकी बनेको छ।
विगतमा सडकमा बेवारिसे पशु चौपायालाई पानी र उपचारको प्रबन्ध मिलाउने नवराज केही दिनदेखि मानिसहरुको प्यास मेटाउने काममा लागेका छन्।
उनी आफूलाई सडक अभियन्ता भन्न रुचाउँछन्। सडकमा बेवारिसे रहेका पशु चौपायाको उपचार र खाद्यान्नसँगै गर्मीमा तिर्खाएका बटुवालाई पानी दिने अभियानलाई समेत उनले निरन्तरता दिएका छन्।
मंगलगढीस्थित उक्त पिपल चौतारालाई बोहराले अभियान चलाएर श्रमदानमै दुई महिनाको समय लगाएर निर्माण गरेका हुन्। जसमा स्थानीय, उद्योगी, जनप्रतिनिधि, मन्त्री, कर्मचारीले समेत श्रमदान गरेका थिए।
अहिले उनी त्यही चौतारीमा एक हजार लिटर पानीलाई जारहरूमा राखेर दैनिक पाँच हजार बढी बटुवाहरुको तिर्खा मेटाइरहेका छन्। यो चौतारी बसपार्कको आडैमा भएकाले मानिसहरुको आवतजावत बढी नै हुन्छ।
सडकमै निःशुल्क खानेपानी सेवाको लागि भनेर विभिन्न निकायका व्यक्तिहरूको सहयोगमा पानी संकलन गरिन्छ। जुन पानी बाटो हिंड्ने बटुवा, सडक सफाई कर्मचारी, सुरक्षा निकायका व्यक्ति, सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले पिउने गरेका छन्।
आर्थिक अभावले कतिपय यात्रुले बजारमा पानी पिउन नपाएको देखेपछि यो अभियान सुरु गरेको नवराज बताउँछन्।
‘गर्मी एकदमै बढेको छ। यो प्रदेशको राजधानी भएकोले मान्छेको चाप पनि त्यति नै बढी हुन्छ। आर्थिक अभावमा कतिपय मानिसहरु पानी पिउन नपाएर भौंतारिएको देखेपछि यो अभियान चलाएको हुँ,’ उनले भने।
‘बाहिरबाट आएकालाई पानी खुवाएर सुर्खेतको संस्कारलाई जगेर्ना गर्नुपर्छ भनेर सडकमै पानी खुवाइरहेको छु। बजारमा पनि निःशुल्क पानी पिउन पाइँदोरहेछ भनेर मानिसहरु दंग छन्,’ उनी थप्छन्।
यो गर्मीमा सडकमा रहेका पशु चौपायालाई समेत उनले निरन्तर सेवा गरिरहेका छन्। यसरी पशु चौपायाको सेवामा रमाउने भएकोले उनले आफ्नो नामको पछाडि भेडा भनेर उपनाम जोडेका छन्।
सडकबाट अभियान चलाएर समाजलाई परिवर्तन गर्छु भन्ने अठोटका साथ २०६४ सालदेखि नै सक्रिय बोहराकै पहलमा प्रदेशकै पहिलो सुधार गृह बनेका थियो। त्यसपछि उनकै पहलमा वीरेन्द्रनगरमा छाडा छोडिएका पशु चौपायाको उपचार गरियो भने नगरपालिकाले गौशाला नै स्थापना गरेको छ।
व्यापारिक पृष्ठभूमि भएको परिवारका जेठो सन्तान उनलाई आमाबुबाले पढाएर डाक्टर वा इन्जिनियर बनाउने सपना देखेका थिए। उनी भने सडक अभियानमा रमाएका छन्।
कुनै ठाउँमा बिरामी, अशक्त, दुर्घटनामा परेका पशु, चौपाया र पंक्षी भेटिए सबैभन्दा पहिला उनलाई नै सम्पर्क गरिन्छ।
त्यहीं पुगेर उपचार र आवश्यक व्यवस्थापनमा उनले विभिन्न व्यक्ति र निकायसँग सहयोग र समन्वय गरेर काम गर्ने गरेका छन्।
उनले यसअघि पानी खान नपाएर छट्पटाइरहेका र प्लाष्टिक खाएर बिरामी पशु चौपायाहरूको खाना र पानीको व्यवस्थापनका लागि हरेक सार्वजनिक स्थानमा प्लाष्टिकका ठूला भाँडामा ‘पानीदान, महादान’ अभियान समेत चलाएका थिए।
असार २, २०८० शनिबार ०८:१२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।