पोस्टरबाट पाएको हाइप ट्रेलरबाट गुमाएको 'परस्त्री’ ले उकास्ला त शिल्पाको करिअर !

पोस्टरबाट पाएको हाइप ट्रेलरबाट गुमाएको 'परस्त्री’ ले उकास्ला त शिल्पाको करिअर !

काठमाडौँ :  हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’ , बलिउड फिल्म ‘गोल्ड’ लगायत अन्तर्राष्ट्रिय फिल्ममा काम गरेकी शिल्पा मास्केले नेपालमा चार वर्षअघि रिलिज भएको ‘द ब्रेक अप’बाट डेब्यु गरिन्।

'कागजपत्र', 'सानो मन', 'कठपुतली', 'लाइफ इन एल' मा अभिनय गरिन्। तर त्यति सफल भएनन् यी फिल्म। ‘फूलबारी’मा छोटो अभिनय भए पनि प्रशंसा भयो उनको कामको। उनको अभिनय रहेको फिल्म 'परस्त्री’ असार १५ गते रिलिज हुँदैछ।

फिल्मलाई थ्रिलर फिल दिने भरपुर प्रयास भइरहेको छ प्रचार प्रसारमा। विवाहेत्तर सम्बन्धका कारण आउन सक्ने सम्बन्धको उतारचढाव फिल्मको मुख्य कथावस्तु रहेको निर्माण टिमले दाबी गर्दै आइरहेको छ।

फिल्मको फस्ट लुक सार्वजनिक हुँदा त हलिउडकै भाइब्स नदेखिएको हैन। तर ट्रेलरमा आएर निर्माण टिम नराम्रोसँग चिप्लियो। फस्टलुकले जमाएको क्रेज ट्रेलरले फिक्का बनाएकाले हुनसक्छ निर्माण टिमले शुक्रवार अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो।

मास्के 'परस्त्री'को प्रस्ताव आउँदा निकै पटक सोच्नु परेको बताउँछिन्। शुक्रवार काठमाडौँमा पत्रकारसँगको भेटघाटमा उनले आफूले आफैँलाई कन्भिन्स गराएर यो फिल्ममा काम गर्ने निधो गरेको बताइन्।

उनी अविवाहित हुन्। सायद विवाहित जीवनको अनुभवको कमीले हो या अन्य केही, फिल्मको क्यारेक्टरमा फिट हुन एक महिना वर्कसप गरेका बताइन उनले।

‘मैले यो मुभी आँट गरेर गरेको हो। अब फिल्म रिलिज भएपछि थाहा होला मैले मेरो क्यारेक्टरलाई न्याय दिएको छु भन्ने कुरा,’उनले भनिन्,‘निर्देशक सुरजले भन्दाखेरि अनि ट्रेलर हेर्दा देखि पनि मुभी एकदम राम्रो बनेको जस्तो लाग्छ। साथीहरूबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छु। यस कारण पनि म यो फिल्मबाट निकै विश्वस्त छु।’

उनले छेवैमा रहेको निर्देशक सुरज पाण्डेको तारिफ गर्दै भनिन्,‘निर्देशकका लागि पहिलो सिनेमा उसको बच्चाजस्तै प्यारो हुन्छ भन्ने मलाई थाहा थियो। सुरजको पहिलो निर्देशन भएकाले मलाई उसले राम्रो काम गर्छ भन्ने विश्वास थियो।’

'पशुपति प्रसाद','आमा' जस्ता हिट फिल्म दर्शकलाई दिएका दीपेन्द्र के खनालको लेखनमा उनको मोह रहेछ। त्यसैले पनि उनले चुनौतीपूर्ण फिल्ममा आफूले काम गरेको दाबी गरिन्।

निर्देशक सुरज पाण्डेले फिल्मको कथा समाजसँग मिल्दोजुल्दो रहेको बताए। फिल्म नेपालीसँगै हिन्दी भाषामा पनि डब भएको छ। हिन्दीमा पनि फिल्म रिलिज गर्नुको कारणबारे उनले 'पैसा धेरै आउँछ कि भनेर' जवाफ दिए। 

असार १, २०८० शुक्रबार २१:३९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।