मध्यमधार : समलिङ्गी पुरुष भन्दैमा ‘केटी जस्तै’ भएर कहाँ हिड्छन् त!
समलिङ्गी पुरुष अर्थात् चलनचल्तीको शब्दमा ‘गे’। पुरुषसँग सम्बन्ध रहनु, महिलाको श्रृंगारको सामान लगाउनु अनि ‘केटी’ जस्तै भएर हिड्नु गे भन्दा झट्ट यस्तै दृश्य नाच्न पनि सक्छ।
समाजमा 'गे' को यो चरित्र चित्रण गर्नमा बढी भूमिका खेलेको छ चलचित्रहरूले हुन्। तर वास्तविकता यस्तो हैन।
पुरुष जो आफूजस्तै लिङ्ग भएको व्यक्तिसँग आकर्षित हुन्छन् उनीहरूलाई समलिङ्गी वा ‘गे' को रूपमा बुझिन्छ। तर पुरुष जो पुरुषप्रति आकर्षित हुन्छन्, उनीहरू महिला जस्तै हाउभाउ वा पहिरनै लगाउन रुचाउँछन् भन्ने हुन्न।
यदि ऊ लैङ्गिक रूपमा पुरुष हो तर केटी जस्तै भएर हिँड्छ भने उसलाई समलिङ्गी पुरुष नभनेर तेस्रो लिङ्गी पुरुषको रूपमा चिनिन्छ। यी दुवै आफैँमा अलग-अलग हुन्।
२३ वर्षीय आर्यन चौधरीलाई पनि त्यस्तै भयो जब उसले पहिलोपटक आफ्नो यौनिक पहिचानको बारेमा खुलेर कुरा गर्न थाल्यो। ऊ आफू समलिङ्गी पुरुष भए पनि कहिल्यै पनि आफूलाई केटीजस्तै हुनुपर्छ भन्ने चाहिँ भएन।
ऊ पुरुष साथीहरूसँग आकर्षित त हुन्थे तर, समाजले स्थापित गरिदिए अनुसार ‘केटीजस्तै’ बन्ने कोशिस गरेका थिएनन्। त्यै भएर घर र साथी भाइहरूबीच कहिल्यै पनि ऊ फरक हो भन्नेनै भएन।
‘दिदीलाई भन्दा पनि उहाँहरूलाई अलि बढी टाइम लाग्यो। ममीड्याडी दुवै पढेलेखेको हुनुहुन्छ। तर, पनि उहाँहरूलाई समय लाग्यो भने पछि अझै पनि समाजमा यसप्रति केहि गढेर बसेको छ भनेर सोच्दा फरक नपर्ला, केहि छ भनेर सोच्नु न!’
त्यसैकारण उनी आफैँ पनि आफ्नो यौनिकताकालाई लिएर अन्योलमा रहे। तर, दश कक्षाको जाँच दिएसँगै विभिन्न सामाजिक सञ्जाल र इन्टरनेटको कारण आफ्नो जस्तै भावनाहरूको बारेमा थाहा पाउन उनले धेरै कुरा पढे।
त्यसपछि सबै भन्दा नजिकैको दिदीलाई आफ्नो बारेमा सुनाए।
‘मैले दिदी म यस्तो हो भनेँ। तर, दिदीले चाहिँ तँ केटा नै होस्। मैले तलाई सानैदेखि देखेकै हो नि भन्नुभयो,’ मुस्कुराउँदै उनले भने, ‘दिदीले पत्याउनै सक्नुभएन। उल्टै कुरा सुनेर हासिरहनुभयो। अनि मैले म केटा त केटानै नै हो। तर, मेरो यौनिकता फरक हो शारीरिक र मानसिकमा रूपमा चाहिँ केटासँग नै आकर्षित हुन्छु भनेँ।’
नेपालगञ्ज पुर्क्यौली घर भए पनि आर्यन सानैदेखि काठमाडौं मै हुर्किए। परिवारको एक्लो सन्तान रहेको उनको आमा स्कुलमा ‘अकाउनटेन्ट’ छन् भने बाबा पनि मेडिकल कम्पनीमा काम गर्छन्।
‘दिदीलाई भन्दा ममीबाबालाई बुझ्न समय लाग्यो’
नौ वर्षको उमेरमा उनले आफ्नै नजिकको मान्छेबाट दुर्व्यवहार पनि भोगे। त्यसको एकदम नराम्रो अनुभव उनले गरेका छन्। तर, अहिले भने त्यो कुरा धेरै पुरानो भएको भन्दै भन्न खोज्दैनन्। तर, जब उनले आफ्नो यौनिकताको बारेमा आमालाई भने त्यसै बेला आफूमाथि भएको दुर्व्यवहारको बारेमा पनि सुनाए।
‘दिदीलाई भनेको धेरैपछि ममीलाई भनेको। उहाँ धेरै रुनुभयो। म गे हुँ भन्ने थाहा पाएर भन्दा पनि दुर्व्यवहार भएको बेला छोरालाई बचाउन सक्नुभएन भनेर रुनुभयो’, उनले भने।
घरमा सबै जना पढेलेखेको भए पनि छोराको यौनिकताको बारेमा थाहा पाएपछि त्यसको बारेमा बुझ्न भने केहि समय लाग्यो।
उनी भन्छन्, ‘दिदीलाई भन्दा पनि उहाँहरूलाई अलि बढी टाइम लाग्यो। ममीड्याडी दुवै पढेलेखेको हुनुहुन्छ। तर, पनि उहाँहरूलाई समय लाग्यो भने पछि अझै पनि समाजमा यसप्रति केहि गढेर बसेको छ भनेर सोच्दा फरक नपर्ला, केहि छ भनेर सोच्नु न!’
‘आजकल त विभिन्न कार्यक्रमहरूमा पनि हाम्रो समुदायको कुराहरू अगाडि आइरहेको हुन्छ। त्यै भएर आफूलाई अलि बलियो भनाउन सक्यो भने पहिलाको पीडितले जस्तो धेरै समस्या त भोग्न पर्दैन।’
तुलनात्मक रूपमा केहि बढी समय लागे पनि घरमा आर्यनप्रति गर्ने व्यवहारमा भने फरक आएन। त्यै भएर उनी खुशी छन्।
‘अनि साथीहरूले पनि तँ कहिले केटीजस्तो पनि गर्या थिएन, कसरी त्यस्तो हुन्छ? तर उनीहरूले पनि नराम्रो व्यवहार गरेनन्।’
‘वंश धान्न विपरीत लिङ्गसँगै सम्बन्ध हुनुपर्छ?’
घरको ‘एक्लो छोरो’ भएको कारण वंश धान्ने कुरा पनि बेला–बेला आउने गर्छ। तर, वंश धान्नको लागि विपरीत लिङ्गसँगै सम्बन्ध हुनुपर्ने भन्ने उनलाई लाग्दैन।
एक चोटी खाना खाने बेलामा उनले बाबालाई सरोगेसीको कुरा गरेका थिए। केहि दिनअघि मात्र पनि आमासँग विवाहको कुरा निस्कँदा उनले भारतका फिल्म निर्देशक करण जोहरको बारेमा सुनाए। जो समलिङ्गी पुरुष भए पनि तीन जना सन्तानको पिता हुन् र अहिलेसम्म अविवाहितनै छन्।
त्यहि भएर आर्यन पनि भविष्यमा बच्चाको रहर लागेमा सरोगेसी मार्फत बच्चा जन्माउने सोचेका छन् र त्यो पनि नभए ‘एडप्ट’ गर्न चाहन्छन्।
‘मेरो परिवारमा प्राय सबैलाई थाहा छ। त्यै पनि कहिलेकाहिँ कसैले कुरा त निकालिहाल्छ। त्यै भएर आफू पहिला बलियो हुने। उनीहरूले केहि भन्नुअघि आफूमा कुनै पनि कमी नराख्ने। केहि गरि होच्याउन खोज्यो भने जवाफ दिनको लागि तयार चाहिँ हुनुपर्छ’, उनले थपे।
यसअघि भने उनी विभिन्न गैर सरकारी संस्थाहरूमा आबद्द थिए। समाजसेवामा पनि इच्छा भएकाले विशेषगरी सडक बालबालिका र यौन दुर्व्यहारमा परेका बालकहरूको लागि काम गरे।
उनले अगाडि भने, ‘हाम्रो तिर यौन दुर्व्यवहारमा परेको बालिकाहरूको धेरै कुरा आउछ नि! त्यो संस्थाले चाहिँ बालकहरू लक्षित काम हुन्थ्यो। घटना भएको धेरै समयपछि पनि उनीहरूको मानसिक रूपमा पनि आघात पुगिराख्ने रहेछ। डर हुने रहेछ। धेरैले त जो केटा देखे पनि डर लाग्छ पनि भन्यो।’
आर्यन अहिले आनुवंशिक ईन्जिनियरिङमा स्नातकोत्तर गर्नको लागि विदेश जाने तयारीमा छन्। पढाइकै प्रोसेसका लागि भन्दै उनले समाजसेवा र काम छाडे।
‘आफ्नो खुट्टामा उभियो भने चाहिँ कसैले केहि भन्दैन। आफूसँग सीप र ज्ञान भए पनि हाम्रो समुदायमा काम नपाउने भन्ने पनि छ। त्यै भएर आफू यस्तो सक्षम हुनुपर्छ कि जसमा लैङ्गिकता र यौनिकताले केहि फरक नपारोस्।’
सूचना प्रविधिको व्यापक विस्तार भएसँगै नयाँ पीडितहरूको लागि भने आफ्नो पहिचानको बारेमा थाहा पाउन धेरै संघर्ष गरिराख्न पर्दैन। उनीहरूलाई आफ्नो बारेमा खुलेर कुरा गर्ने आँट र त्यसपछि आउनसक्ने चुनौतीको बारेमा मानसिक रूपमा तयार भए पुग्छ। जुन कुरामा आर्यन पनि सहमत छन्।
‘फेमस युट्युबरहरू, ठूला–ठूला सेलिब्रेटीहरू र आजकल त विभिन्न कार्यक्रमहरूमा पनि हाम्रो समुदायको कुराहरू अगाडि आइरहेको हुन्छ,’ उनले भने, ‘त्यै भएर आफूलाई अलि बलियो भनाउन सक्यो भने पहिलाको पीडितले जस्तो धेरै समस्या त भोग्न पर्दैन।’
त्यसैमार्फत पनि नीलहिरा समाजमा पनि उनी जोडिए। जसमा आएर आफ्नो बारेमा बुझ्न झन् सहज भएको महसुस गरेका छन्। आफूजस्तै साथीहरूको पीडा सुनेका छन्।
नेपालको पहिलो ‘ड्राग क्विन’देखि शो को जजसम्मको यात्रा
उनी काठमाडौंमा भएको ‘ड्राग शो’को कोरियोग्राफरसँगै जज पनि हुन्। उनका अनुसार ड्राग भनेको कलाको ठूलो र जीवन्त रूप हो। धेरैले ड्राग भनेको केटाबाट केटी बन्नको लागि गरिने मेकअप भनेर पनि बुझ्ने गर्छन्।
तर, त्यतिमात्र भने हैन। कुनै चर्चित विषयवस्तु केन्द्रित रहेर आर्ट गर्यो भने त्यो पनि ड्रागमै पर्छ। जस्तै सुपर हिरोहरू, सुपरम्यानहरूको मेकअप पनि एउटा ड्राग नै हो। त्यस्तै ‘फेसियल आर्ट’, केटाबाट केटी बन्नु र केटीबाट केटा बन्नु सबे ड्रागमै पर्छ।
‘त्यै भएर मेरो लागि चाहिँ ड्राग भनेको एउटा वृहत कला हो, जसमा आफूलाई जे मन लागेको हुन्छ त्यो गर्न सक्नुहुन्छ। त्यसमा सबैले आ–आफ्नो तरिकाले आफूलाई प्रस्तुत गरिरहेको देख्न सकिन्छ,’ उनले भने, ‘यसपटकको नारा ‘ड्राग शोर फर भिजिबिलिटी’ भन्ने छ। हाम्रो समुदायको अझै पनि कतिपय मान्छेहरू खुल्न सकिरहेको छैन। कतिलाई त आफू कोहो भन्ने पनि थाहा छैन। त्यै भएर उहाँहरूको लागि यो एकदम महत्वपूर्ण हुनसक्छ। आफूलाई चिन्न र खुल्न यसले मद्दत गर्न सक्छ।’
एलजीबिटिक्युआई समुदायका व्यक्तिहरूको बाक्लो उपस्थिति हुने हुँदा आफू एक्लै होइन रहेछ भन्ने आर्यनले बुझिसके। आफूजस्तै अन्य साथीहरू पनि भएको भन्दै उनले यस्तो साथीहरू पनि बनाउन सकिने बताए। यस्तो कार्यक्रमहरूले गर्दा समुदायमा भएको मानसिक आघात र आत्महत्या जस्तो समस्याहरू पनि पहिला भन्दा धेरै कम हुँदै आएको उनको भनाइ छ।
आर्यन आफैँ पनि ‘ड्राग क्विन’ हुन्। सन् २०१९ को डिसेम्बरको अन्तिम दिन नेपालमा पहिलो पटक भएको ड्राग शोमा उनी विजेता बनेका थिए।
‘आफ्नो परिचय खुलेर राख्नुस्। सकेसम्म आफ्नो जिन्दगी बाच्नुस् अनि अरुको जीन्दगी पनि बाँच्न दिनुस्।’
‘क्विनको सट्टामा ‘किंग’ भनेको भए पनि हुन्थ्यो। तर, प्रतियोगितामा सहभागी हुँदा म केटी बनेको भएर क्विननै भनेको। मलाई पनि त्यसमा कुनै आपत्ति छैन,’ उनले भने, ‘ड्राग क्विन हुँदाको क्षण एकदम रमाइलो थियो। किनभने त्योभन्दा अघिदेखि नै मैले ड्राग त गर्थे, तर, प्रतियोगिता चाहिँ कहिले भएको नै थिएन।’
त्यतिबेला उनले सबै तयारी इन्टरनेट हेरेर नै गरे । अहिले भने उनी आफैँले त्यसको तालिम दिन पाउँदा दङ्ग छन्।
‘आफू बाँच्नुस् अरुलाई बाँच्न दिनुस्’
समलैंगिक विवाहको कानून नबनेको भए पनि यस विषयमा चर्चा हुन थालेकोमा आर्यन खुशी छन्। समलिङ्गी जोडीहरू अहिले लुकिछिपी विवाह गर्न बाध्य छन्। त्यै भएर कानून भनेको पढेलेखेको मान्छेको लागि मात्र हो कि भन्ने पनि लागेको उनी बताउँछन्।
‘जो पढे लेखेको छ। जसले बुझेको। जसको पहुँच छ। उसले मात्र मौका पाइरहेको छ। जसलाई थाहा छैन। ऊ त्यत्तिकै बसिरहेको छ। सुविधा, मौका केहि पाउँदैन। त्यै भएर सकेसम्म पढेको चाहिँ राम्रो। पढाइ सबैको लागि आवश्यक छ। तर, हाम्रो यो समुदायको लागि झन् धेरै आवश्यक छ,’ उनले भने, ‘आफ्नो खुट्टामा उभियो भने चाहिँ कसैले केहि भन्दैन। आफूसँग सीप र ज्ञान भए पनि हाम्रो समुदायमा काम नपाउने भन्ने पनि छ। त्यै भएर आफू यस्तो सक्षम हुनुपर्छ कि जसमा लैङ्गिकता र यौनिकताले केहि फरक नपारोस्।’
समुदायमा भएको व्यक्तिहरूले आफ्नो यौनिकताको बारेमा पहिचान गरिसकेपछि अरु साथीहरूलाई पनि सहयोग गर्नुपर्ने उनको तर्क छ। हुन त आफ्नो यौनिकताको बारेमा भन्ने वा नभन्ने नितान्त व्यक्तिगत विषय हो। तर, आर्यनका अनुसार धेरै जना अझै पनि लुकेर बस्न चाहन्छन्। समाजको डर भनेर लुकेर बसिरहँदा त्यसको मूल्य आफैँ चुकाउनुपर्ने उनको बुझाइ छ।
‘मेरो आफ्नै धेरै साथीहरू ले आफ्नो पहिचान लुकाएर समाज र परिवारले भने अनुरूप बिहे गरेको छ। त्यसो गर्दा झन् धेरै जनाको जिन्दगी बिग्रनु हो। पछि उनीहरूको बच्चा पनि होला। त्यो समस्या झन् धेरै बढ्दै जान्छ। त्यस्तो बेलामा जत्तिसुकै लुकाउन खोजे पनि लुक्दैन,’ उनले अगाडि भने, ‘आफ्नो परिचय खुलेर राख्नुस्। सकेसम्म आफ्नो जिन्दगी बाच्नुस् अनि अरुको जीन्दगी पनि बाँच्न दिनुस्।’
असार १, २०८० शुक्रबार २०:४५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।