पासपोर्टको दस्तुर घट्यो, हराएर बनाउँदा ५ हजार थप

पासपोर्टको दस्तुर घट्यो, हराएर बनाउँदा ५ हजार थप

काठमाडौं : सरकारले राहदानी (पासपोर्ट)को दस्तुर घटाएको छ।

राजपत्रमा सूचना प्रकाशित गर्दै परराष्ट्र मन्त्रालयले राहदानी नियमावली २०७७ को अनुसूची ४ मा संशोधन गरेको जनाएकाे हो।

संशोधित व्यवस्था अनुसार सरकारले साधारण राहदानीको लागि विभाग वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा नियम ६ को उपनियम (४) बमोजिम निवेदन दिएकोमा ५ हजार रुपैयाँ शुल्क तोकेको छ।

सरकारले यसअघि जिल्ला प्रशासनमा निवेदन दिँदा ३४ पृष्ठको हकमा ५ हजार रुपैयाँ र ६६ पृष्ठको हकमा १० हजार शुल्क लिने गरेको थियो। तर, अब ६६ पृष्ठको पासपोर्ट ५ हजार रुपैयाँमा लिन सकिने व्यवस्था गरेको छ।

सरकारले सेवाग्राहीका लागि ३४ र ६६ पृष्ठका दुई पासपोर्ट वितरण गर्ने गरेको थियो। जसको शुल्क पृष्ठ अनुसार फरक तोकिएको थियो।

सरकारले राहदानी विभागमा पासपोर्ट निकाल्दा लाग्ने शुल्क पनि घटाएको छ। यसअघि ३४ पृष्ठको हकमा १२ हजार रुपैयाँ र ६६ पृष्ठको हकमा २० हजार रुपैयाँ शुल्क लिने गरेकोमा अब ६६ पृष्ठको पासपोर्टको शुल्क १२ हजार मात्रै तोकिएको हो।

तर राहदानी हराएको, पाना च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानी प्रयोग हुन नसक्ने भएमा नयाँ राहदानी लिनु पर्दा लाग्ने थप ५ हजार शुल्क तिर्नुपर्ने भएको छ।

त्यसैगरी १० वर्षभन्दा कम उमेरका नाबालकको राहदानीको लागि जिल्ला प्रशासनमा निवेदन दिँदा आधा शुल्क लाग्नेछ। सोहि उमेरका नाबालकले राहदानीको लागि विभागमा निवेदन दिँदा ९ हजार ५ सय रूपैयाँ शुल्क लाग्ने भएको छ।

असार १, २०८० शुक्रबार १९:११:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।