अध्यक्ष तिमिल्सिना र चीनियाँ कम्युनिष्ट पार्टीका तिब्बत महासचिव वाङबीच शिष्टाचार भेट

अध्यक्ष तिमिल्सिना र चीनियाँ कम्युनिष्ट पार्टीका तिब्बत महासचिव वाङबीच शिष्टाचार भेट

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चीनियाँ कम्युनिष्ट पार्टी तिब्बतका पार्टी महासचिव वाङ चेङजुङले शिष्टाचार भेट भएको छ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष तिमिल्सिनासँग चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा शुक्रबार बिहान शिष्टाचार भेट भएको हो।

भेटमा अध्यक्ष तिमिल्सिनाले सातौं शताब्दीमा नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा सोङसेन ग्याम्पोसँगको विवाहदेखि नै नेपाल र तिब्बतबीच नाता जोडिएको चर्चा गर्दै भूगोल, संस्कृति र परम्पराहरूले बलियो रूपमा तिब्बत र नेपाललाई जोडेको बताए।

उनले नेपाल र तिब्बतबीच ऐतिहासिक समयदेखि चलिआएका व्यापार र लगानी नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका आधारभूत खम्बा भएको बताए।

कोभिड महामारीका समयमा नेपाल र चीनबीचको व्यापार र लगानीका गतिविधहरू प्रभावित भएको तथा अहिले तीनवटा नाकाहरू खुला भएकाले यसले व्यापार र लगानीमा प्रर्वद्धन गर्ने विश्वास व्यक्त गरे।

अध्यक्ष तिमिल्सिनाले मुस्ताङ र तिब्बतको ढोङवासेन जिल्लाको सिमानामा पर्ने कोरल्ला नाकालाई छिटो सञ्चलान गर्न आवश्यक रहेको बताए। कालीगण्डकी करिडोर हुँदै मानसरोवर यात्रा छोटो र सहज हुने भएकाले भन्सार नाका जति सक्दो छिटो सञ्चालनमा ल्याउन आवश्यक भएको बताए।

कोराला नाकामा तिब्बततर्फ भन्सार पूर्वाधारको निर्माण कार्य तीव्र रूपमा अगाडी बढिरहेको छ तर नेपालतर्फ भन्सार पूर्वाधारको निर्माण कार्य शुरु गर्न नसकिएको अबस्थामा नेपाल तर्फ भन्सार पुर्वाधार बनाउन तिब्बत सरकारको सहयोगको अपेक्षा गरेको पनि बताए।

असार १, २०८० शुक्रबार १७:००:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।