सडक अलपत्र पारेपछि बुटवलका स्थानीयले घेरे डिभिजन कार्यालय
बुटवल : बुटवलको योगीकुटी पूर्व र पश्चिमको सडक अलपत्र छाडेपछि स्थानीयले सडक डिभिजन कार्यालय घेराउ गर्न पुगेका छन्।
बनिबनाउ सडक खनेर नयाँ बनाउने भन्दै धुलाम्य पारेर बिचैमा ठेकेदार कम्पनीले काम राेकेपछि स्थानीयले सडक कार्यालय घेर्न पुगेका हुन्।
धागो कारखाना-योगीकुटी-मगराघाट-तामनगर सडक अन्तर्गत योगीकुटी खण्डको १८ सय मिटर बिचमै अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्क बाहिर गएको भन्दै स्थानीय सडक डिभिजन कार्यालय घेर्न बाध्य भएको स्थानीय अगुवा डिल्लीनारायण पाण्डेले बताए।
नयाँ कालोपत्रे गर्ने भन्दै बनिबनाउ सडक बिगारेर अलपत्र पारिएको बताउँदै उनले धुलो र सडकबाट उछिट्टिने ढुँगाले सडक किनारका व्यवसायी जोखिममा परेको उनले बताए।
स्थानीयको ज्ञापन पत्र बुझ्दै डिभिजन प्रमुख होमबहादुर एसीले संघबाट बजेट रोक्का भएका कारण काम रोकिएको बताए। ठेक्का सम्झौता गरिसकेपछि पनि अर्थमन्त्रालयले सो सडकको बाँकी बजेट रोक्का गरिदिएसँगै ठेकेदार कम्पनीले काम रोकेको हो।
यसअघि २७ फिट रहेको यो सडक ५० फिट कायम गर्ने गरी विस्तार थालिएको थियो। डिभिजन सडक कार्यालय बुटवलले सडक विस्तारको अध्ययन गरेर कम क्षति हुन ५० फिट कायम गर्नुपर्ने सुझाव दिएको थियो।
सोही सुझावका आधारमा उपभोक्ताहरूले ५० फिट कायम गर्ने गरी निर्माण गर्न भन्दै सरकारसँग बजेट माग गरेपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सो सडकको शीर्षकमा बजेट बिनियोजन गरेका थिए।
सरकार परिवर्तनसँगै उक्त सडकअन्तर्गतको बजेट शीर्षक नै परिवर्तन गर्नाले समस्या देखिएको सडक कार्यालयका अधिकारीहरूको भनाइ छ।
सवारीसाधनको अत्यधिक चाप हुने यो सडक दिनभरजसो व्यस्त हुने गर्छ। व्यस्त सडक धुलाम्मे हुँदा स्थानीय बासिन्दाको मात्र नभएर ओहोरदोहोर गर्ने यात्रीहरूको स्वास्थ्य बिग्रिदै गएको पाण्डेले बताए।
संघीय सरकार अन्तर्गतको सो सडकमा योगीकुटी पूर्वमा एसियाटेक कन्ट्रक्सनले ३ करोड ३७ लाख ७० हजारमा ठेक्का लिएको थियो भने पश्चिम खण्डको सिद्धार्थ दर्शन बीकोन जेभीले ६ करोड ५२ लाख ७४ हजारमा ठेक्का पाएको थियो।
हाल सम्म ठेकेदार कम्पनीहरुले सडक पूर्वमा १ करोड १२ लाख बराबरको काम गरेर भुक्तानी लिएको छ भने सडक पश्चिमको ठेकेदारले १ करोड ४३ लाख भुक्तानी लगेको सडक डिभिजन कार्यालयले जनाएको छ।
बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सिमाना जोड्ने यो सडकले योगीकुटीदेखि मगरघाट पुल हुँदै तिनाउ पारि जोड्नेछ।
असार १, २०८० शुक्रबार १६:३९:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।