बालेनलाई प्राधिकरणले सोध्यो सात दिने स्पष्टीकरण, जवाफ नदिए हुनेछ यस्तो कारबाही

बालेनलाई प्राधिकरणले सोध्यो सात दिने स्पष्टीकरण, जवाफ नदिए हुनेछ यस्तो कारबाही

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई सात दिने स्पष्टीकरण सोधेको छ।

सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा लगाइएको तारबार पूर्वजानकारी र सूचना नदिई काटेको भन्दै प्राधिकरणले प्रमुख शाहलाई सात दिने स्पष्टीकरण सोधेको हो।

प्राधिकरणले महानगरको यस कार्यलाई नेपाल नागरिक उड्ययन प्राधिकरण ऐन, २०५३ को दफा सातको कसुर भनेको छ।

साथै महानगर प्रमुख शाहलाई सोही ऐनको दफा २५(१) बमोजिम किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेको हो।

दफा २५(१) मा नियमित वा निषेध गरेको काम कुराहरु प्राधिकरणको पूर्वस्वीकृति विना गरेमा वा प्राधिकरणले स्वीकृति दिँदा कुनै शर्त तोकिदिएकोमा त्यस्तो शर्त विपरीत हुने गरी कुनै काम गरेमा त्यस्तो व्यक्तिलाई प्राधिकरणले पचास हजार रुपैयाँसम्म जरिवाना गर्नसक्नेछ।

असार १, २०८० शुक्रबार १६:२०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।