मनसुन देशभर फैलन अझ केही दिन लाग्ने, यसपालि कम वर्षा हुने सम्भावना

मनसुन देशभर फैलन अझ केही दिन लाग्ने, यसपालि कम वर्षा हुने सम्भावना

काठमाडौं : मनसुन देशभर फैलिने क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन क्रमिक रूपमा फैलिरहेको र यो देशभर विस्तार हुन अझै एक साता लाग्ने महाशाखामा मौसमविद् रोजन लामिछानेले जानकारी दिए।

‘मनसुन सुस्त गतिमा छ, पश्चिमतिर फैलिन अझै केही दिन लाग्छ, मनसुन प्रणाली केही मात्रामा कमजोर रहे पनि वर्षा भने निरन्तर हुनेछ,’ उनले भने।

साथै यो वर्ष सरदरभन्दा कम वर्षा हुने महाशाखाले जनाइएको छ। नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने। यसपाली एकदिन ढिला गरी मनसुन प्रवेश गरेको छ।

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यसै कारण देशका मध्य तथा पूर्वी भेगमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र अहिले कोशी, बागमती र गण्डकी प्रदेशका कतिपय स्थानमा वर्षा भइरहेको छ।

गत बुधबार नेपालको पूर्वी भेग भएर मनसुन प्रणाली भित्रिएको थियो। देशको कोशी प्रदेश, मधेस प्रदेशको पूर्वी भू-भाग, बागमती प्रदेशको अधिकांश भू-भाग र गण्डकी प्रदेशका पूर्वी भू-भागमा मनसुन आगमन भएको महाशाखाले जनाएको छ।

असार १, २०८० शुक्रबार १३:४६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।