व्यापार घाटा चुलिएकाले बैंकको ब्याजदर घटाउन आग्रह

व्यापार घाटा चुलिएकाले बैंकको ब्याजदर घटाउन आग्रह

काठमाडौं : एमाले सांसद दामोदर भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणका क्रममा भारतसँगको व्यापार घाटाका विषयमा छलफल नभएकामा चिन्ता व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा उनले नेपालले व्यापार असन्तुलनको सामना गरिरहेको अवस्थामा उत्पादित वस्तु र सेवा गुम्दै गएको बताए।

‘नेपालमा आज व्यापार घाटा चुलिएको छ, गत वर्ष मात्रै १९ खर्बको आयात र दुई खर्बको निर्यात भएको छ र १७ अर्ब व्यापार घाटा रहेको थियो, यस वर्षको वैशाख महिनासम्मको तथ्याङ्क हेर्दा यो वर्ष पनि झन्डै १२ खर्ब चार अर्ब बराबरको आयात भएको छ, १ खर्ब ३१ अर्ब बराबरको निर्यात भएको छ,’ उनले भने।

‘सञ्चालनमा रहेका उद्योगहरुसमेत बन्द गर्नुपर्ने अवस्था आएको छ। बैंकको ब्याज वृद्धि भएर सञ्चालित उद्योग बन्द गर्नुपर्ने अवस्था आएको हो,’ उनले थपे। त्यसैले उनले बैंकको ब्याजदर घटाउन पनि सरकारसँग आग्रह गरेका छन्।

बैठकमा भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि सामूहिकृत रुपमा भएको छलफलमा खर्च कटौतीको प्रस्ताव पेस गरेका थिए।

त्यसैगरी, खर्च कटौतीका अर्का प्रस्तावक बलराम अधिकारीले सरकारले जग्गा किनबेचमा रोक लगाएको भए पनि अहिले पनि विचौलियाहरु कर्मचारीसँग मिलेर जग्गा पास गरिरहेको बताए।

‘के सरकारले यो किसिमको अनियमितता रोक्नसक्छ? दोषीलाई कारबाही गर्न सक्छ?’ उनले सरकारलाई प्रश्न गरे।

असार १, २०८० शुक्रबार १३:२३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।