चार दल मिलेर समाजवादी मोर्चा बन्ने पक्का, एकीकृत समाजवादीले गर्‍यो औपचारिक निर्णय

चार दल मिलेर समाजवादी मोर्चा बन्ने पक्का, एकीकृत समाजवादीले गर्‍यो औपचारिक निर्णय

काठमाडौँ : माओवादी केन्द्रको नेतृत्वमा चार पार्टी मिलेर समाजवादी मोर्चाको घोषणा हुने भएको छ। माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चाको घोषणा गर्न लागेका हुन्।

मङ्सिर ४ गतेको निर्वाचन अगाडिबाटै मोर्चाको चर्चा भए पनि पार्टीहरूबिच औपचारिक सहमति हुन सकेको थिएन। एमालेसहितको सरकारको नेतृत्वमा पुष्पकमल दाहाल प्रचण्ड गएपछि भाँडिएको मोर्चाको अवधारणा एमाले-माओवादीको सहकार्य टुटे लगत्तै अगाडि बढेको थियो।

शुक्रवार एकीकृत समाजवादीले त औपचारिक रूपमै समाजवादी मोर्चामा सहभागी हुने निर्णय नै गरिसकेको छ। शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यसलाई सर्वसम्मत निर्णय गरेको हो। 

पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चामा पार्टी सहभागी हुने निर्णय भएको पुष्टि गरे। जनता समाजवादी पार्टीको समेत बैठक बस्दैछ।

समाजवादी मोर्चा गठनमा सहमति भए पनि खुल्दा मोर्चा बनाएर सहकार्य हो या पार्टी नै एकीकरण हुने हुन् प्रस्ट भएको छैन। यसको नेतृत्वको मोडालिटी समेत सार्वजनिक भएको छैन।

मोर्चामा सहभागी हुन राजी भएका तीन दल संसद्मा प्रतिनिधित्व भएको दल हो। चन्दको पार्टी संसदीय प्रक्रियामा संलग्न भएको छैन।

असार १, २०८० शुक्रबार १२:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।