ताप्लेजुङमा बाढीले पुल बगायो, २९ घर उच्च जोखिममा

ताप्लेजुङमा बाढीले पुल बगायो, २९ घर उच्च जोखिममा

ताप्लेजुङ : दुई दिनदेखिको अविरल वर्षाका कारण ताप्लेजुङको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ।

गए राति आएको बाढीले सिरीजङ्घाको खेवाङ र सिदिङ्वाको मेहेले जोड्ने तावाखोला माथिको मोटरेवल पुल बगाएको छ। एक महिनाअघिदेखि सञ्चालनमा आएको उक्त पुलको आधा भाग बाढीले बगाएको स्थानीयले बताएका छन्।

त्यसैगरी निरन्तर वर्षासँगै बाढी पहिरोले पूर्व क्षेत्रमा पर्ने सिरीजङ्गा गाउँपालिका र सिदिङवा गाउँपालिकाका विभिन्न गाउँका २९ घरपरिवार उच्च जोखिममा परेको छ।

स्थानीयका अनुसार काबेली खोलामा गए राति आएको बाढीले जगतबहादुर राई र तारामान गुरुङको घरमा पूर्ण रुपमा क्षति गरेको छ। पशु चौपायको क्षति भने यकिन नभएको स्थानीय विदुर गुरुङले बताए।

दुई दिनदेखि लगातार पानि परेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरोले क्षति पुगेको छ। निरन्तरको वर्षाले थप जोखिम बढेकाले यहाँका नागरिक त्रसित बनेका छन्।

स्थानीय पेम्बा शेर्पाका अनुसार आठ किलोवाट क्षमताको जलविद्युतको पावर हाउस पनि बाढीले बगाएको छ।

असार १, २०८० शुक्रबार १२:५०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।