उपत्यका बाहिर‍ जाने जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाटै लाग्ने

उपत्यका बाहिर‍ जाने जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाटै लाग्ने

काठमाडौं : काठमाडौं भित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन्। 

काठमाडौं महानगरपालिकाले निर्देशन अनुसार आजदेखि सार्वजनिक बसदेखि जीप तथा माइक्रोबस पनि नयाँ बसपार्क भित्रबाट सञ्चालन भएका हुन्।

काठमाडौं महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९ गते एक सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्क भित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो।

काठमाडौंभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वर लगायत क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस पनि आजदेखि नयाँ बसपार्क भित्रबाट सञ्चालन भएका छन्। 

महानगरले आज बिहानदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थित रुपमा सञ्चालित टिकट काउण्टर हटाएको छ। कामपाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोङ्गबु, कलङ्की क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका टिकट काउण्टर हटाइएको जानकारी दिए।

उनका अनुसार माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ र काउण्टरको व्यवस्था गरिएको छ। महानगरको निर्णय कार्यान्वयन भएसँगै दैनि करुपमा उपत्यका बाहिर सञ्चालित करिब दुई हजार सार्वजनिक यातायात बसपार्क भित्रबाट सञ्चालन हुनेछन्।

असार १, २०८० शुक्रबार १२:३१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।