प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मतले अनुमोदन

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मतले अनुमोदन

काठमाडौं : प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतीले अनुमोदन भएको छ।

सभापति पशुपति शमशेर जबराका अनुसार कार्कीलाई संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो।

समितिको शुक्रबार (आज) बसेको बैठकपछि सभापति जबराले संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको नाम सर्वसम्मतीले स्वीकृत गरिएको बताए।

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि अब राष्ट्रपतिले प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

कार्कीविरुद्ध परेका उजुरी र उनले पेस गरेको कार्ययोजनाका विषयमा समितिले बिहीबार र शुक्रबार दुई दिन कार्कीसँग सवाल जवाफ गरेको थियो।

उनले हिजो बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्ना अनुभव सुनाउनुका साथै आफ्नो कार्ययोजना पेस गरेका थिए।

गत वैशाख २५ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निलम्बनकै अवस्थामा गत मंसिरमा अवकाश पाएपछि हाल कार्की नै कामु प्रधानन्यायाधीश छन्।

असार १, २०८० शुक्रबार ११:१२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।