फैसला भएका र विचाराधीन मुद्दाको विषयमा जवाफ दिन सक्दिनँ : प्रस्तावित प्रधानन्यायाधीश कार्की

फैसला भएका र विचाराधीन मुद्दाको विषयमा जवाफ दिन सक्दिनँ : प्रस्तावित प्रधानन्यायाधीश कार्की

काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले फैसला भएका र विचाराधीन मुद्दाको विषयमा जवाफ दिन नसक्ने बताएका छन्।

सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले कतिपय प्रश्नको जवाफ दिन नसक्ने बताएका हुन्।

उनले भने, ‘हिजो फैसला भएका र अदालतमा विचाराधीन विषयमा जवाफ दिन सक्दिनँ। कोटलाई बदनाम गर्ने गरेर लगाइएका आरोप स्वीकार्य र शोभनीय हुँदैन र त्यस्ता प्रश्नको जवाफ दिन म सक्दिनँ।’

‘फैसला र नजिरमा विविधता देखिएको विषयलाई त्योभन्दा ठूलो इजलासबाट एकरूपता कायम गर्न आवश्यक गर्न छ भनेर सिफारिस गरेर पठाउँछौं। त्यसलाई हामीले निरन्तर अभ्यास गर्दै आएका छौं,’ उनले थपे।

साथै उनले नागरिकको अधिकारलाई प्राथमिकता दिनुपर्ने बताए।

‘हाम्रो संविधानले नागरिक अधिकारका विषयमा बोलेको छ। नागरिकको मौलिक अधिकारको संरक्षकको अधिकार अदालतलाई दिइएको छ,‘ उनले भने, ‘त्यसमा सम्पत्तिसम्बन्धी अधिकार छ। नागरिकको सम्पत्तिको विषयमा प्रतिकूल असर परेपछि अदालतले फैसला गर्छ। हामीले नागरिकको अधिकारलाई प्राथमिकता दिनुपर्छ।’

सुनुवाइका क्रममा उनलाई एमाले सांसद महेश बर्तौलाले न्यायाधीशको उच्छृंखल गतिविधि सम्हाल्न नसक्नेले कसरी न्यायालय सम्हाल्नुहुन्छ भन्दै प्रश्न गरेका थिए।

‘न्यायालयभित्र सिटिङ न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशका विरुद्धमा मिडिया आएर प्रचारबाजी गर्दै उच्छृंखल, अनुशासनहीन, नैतिक आचरणभन्दा बाहिर गरेको गतिविधि नियन्त्रण नियनम गर्न सक्नुहुन्न भने प्रधाननन्यायाधीश भएपछि हामीले के अपेक्षा गर्ने? यो विषयलाई यहाँले कसरी हेर्नुहुन्छ?’ बर्तौलाले सोधेका थिए।

अर्का सांसद रमेशजंग रायमाझीले पनि सोही न्यायाधीशको बारेमा प्रश्न उठाउँदै के कारबाही हुन्छ र त्यसको कानूनी व्यवस्था के छ भन्दै प्रश्न गरेका थिए।

त्यसैगरी सांसद ईश्वरी घर्तीले अदालतका बिचौलिया कानून व्यवसायी हुन् कि राजनीतिक दलका प्रतिनिधि भनेर प्रश्न गरेकी थिइन्।

असार १, २०८० शुक्रबार १०:५३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।