प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूको सवाल जवाफ सुरु

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूको सवाल जवाफ सुरु

काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सवाल जवाफको क्रम सुरु भएको छ। आज (शुक्रबार) बिहान संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले कार्कीसँग प्रश्न सोध्ने काम सुरु गरेका छन्।

कार्कीविरुद्ध परेका उजुरी र उनले हिजो (बिहीबार)को बैठकमा पेस गरेको कार्ययोजनाका विषयमा हाल प्रश्नोत्तर भइरहेको छ।

कार्कीसँग प्रश्नोत्तरको हिजोको कार्यक्रम संसद् बैठक भएकाले आज बिहान ८ बजेलाई सारिएको थियो। कार्कीले हिजो बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्ना अनुभव सुनाउनुका साथै आफ्नो कार्ययोजना पेस गरेका थिए।

गत वैशाख २५ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निलम्बनकै अवस्थामा गत मंसिरमा अवकाश पाएपछि हाल कार्की नै कामु प्रधानन्यायाधीश छन्।

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

असार १, २०८० शुक्रबार ०८:५४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।