उकेरा टप फाइभः 'राजु मास्टर' र 'बल्छी धुर्वे' पक्राउदेखि बालेनको असंवैधानिक अभिव्यक्ति

उकेरा टप फाइभः 'राजु मास्टर' र 'बल्छी धुर्वे' पक्राउदेखि बालेनको असंवैधानिक अभिव्यक्ति

काठमाडौँः अनलाइन बेटिङ ‘वान एक्स बेट’ मा संलग्न रहेको आरोपमा प्रहरीले चर्चित हास्य कलाकारदेखि युट्युबरसम्मलाई बिहीबार सार्वजनिक गर्यो। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूमाथि वान एक्स बेटको प्रमोशन कोड लिएर युट्युब च्यानलबाट विज्ञापन गरेको आरोप लगाएको छ।

कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी), एलिस राई, ज्वलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगमन नेपाली पक्राउ परेका हुन्।

त्यस्तै आजै आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअघिको दोस्रो वार्मअप खेलमा ओमानमाथि नेपालले दुई विकेटको जित निकालेको छ।

२६८ रनकाे विजयी लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ५ बलमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

नेपालका लागि कुशल भुर्तेलले शतक र भीम सार्कीले अर्धशतक प्रहार गरे।कुशलले ९१ बलमा १३ चौका र २ छक्कासहित शतक प्रहार गर्दा भीमले ६५ बलमा ८ चौकासहित अर्धशतक प्रहार गरे।

भुर्तेलले १०१ रनमा रिटायर्ड आउट लिए भने सार्कीले ५६ रन बनाए।

यस्तै आज दक्षिण भारतीय फिल्म 'आदिपुरुष' ले नेपालमा विवाद निम्त्यायो। फिल्ममा समावेश एक संवादमा नेपालकी छोरी जानकी भारतमा जन्मिएकी भन्ने संवाद राखिएपछि उक्त फिल्मलाई नेपालमा प्रदर्शनमा रोक लगाउन माग उठ्यो। चलचित्र विकास बोर्डले पनि सेन्सर नभएसम्म उक्त फिल्म नचलाउने बताएको थियो। तर उक्त फिल्मको त्यस संवाद म्युट गरेर बोर्डले सेन्सर पास गराएको थियो। 

तर यता काठमाडौं महानगरपालिका मेयर बालेन शाहले भने फिल्ममा भएको संवाद आपत्तिजनक भएको भन्दै तीन दिनभित्र नसच्याए महानगरपालिकाभित्र चलाउन नदिने चेतावनी दिए। 

त्यस्तै बिहीबारै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बहस सकिएको छ।

बिहीबार जिल्ला अदालत काठमाडौंमा पक्राउ परेका १८ जना आरोपितको पक्ष-विपक्षको बहस सकिएको हो। प्रहरीले दुई महिना लगाएर गरेको अनुसन्धानका आधारमा दायर भएको अभियोग पत्रका आधारमा जेठ २१ देखि थुनछेक बहस भइरहेको थियो।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी वकिल र १८ जना आरोपितका कानून व्यवसायीहरूको बहस सकिएको हो। बिहीबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृह सचिव टेकनारायण पाण्डे, गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित केशव दुलाल, सानु भण्डारी, आङटावा शेर्पा, समशेर मियाँ, सन्दीप रायमाझी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी, नरेन्द्र केसी, गोविन्द चौधरीको पक्ष र विपक्षमा बहस सकिएको हो।

त्यस्तै आजै (बिहीबार) बिहान बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय पनि गरेको थियो।

अब लागौं टप फाइभतर्फः

उकेराले बिहीबार बिहान प्रस्तावित प्रधानन्यायाधीश कार्की भन्छन् - ‘म इच्छाविपरीत सर्वोच्चको न्यायाधीश बनें’ शीर्षकमा समाचार लेख्यो। 

प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीले आफू इच्छा विपरीत सर्वोच्चको न्यायाधीश बनेको बताएका छन्।

आज (बिहीबार) बिहानदेखि सुरु भएको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले प्रधानन्यायाधीशको आग्रहमा मात्र आफू सर्वोच्चको न्यायाधीश नियुक्त भएको बताए।

पूरा समाचारः प्रस्तावित प्रधानन्यायाधीश कार्की भन्छन् - ‘म इच्छाविपरीत सर्वोच्चको न्यायाधीश बनें’

त्यस्तै आज उकेराले दिउँसो 'खडेरीले बाली र बीउ सुक्न थालेपछि किसान चिन्तित, भर आकाशे पानीकै' शीर्षकमा सुर्खेतको समाचार लेख्यो। 

खडेरीले बाली सुक्न थालेपछि आकासे पानीकै भरमा खेती गरिरहेका किसानहरु हाल चिन्तामा परेका छन्।

पञ्चपुरी नगरपालिका-६ का वीरबहादुर विकको बारीमा लगाएको मकै सुकेको छ। सिंचाइ नहुने ठाउँ र आकासे पानीकै भर पर्दा खडेरी लागेपछि उनको बारीमा मकै सुकेको हो। 

पूरा समाचारः खडेरीले बाली र बीउ सुक्न थालेपछि किसान चिन्तित, भर आकाशे पानीकै

त्यस्तै उकेराले आजै प्राथमिकतासाथ नेपालमा अनलाइन सट्टेबाजी 'वान एक्स बेटिङ' बारे लेख्यो। 

पूरा समाचारः फ्यानलाई अनलाइन बेटिङमा लोभ्याएर २५ प्रतिशतसम्म कमिसन खाँदा प्रहरीको बल्छीमा परे आठ कलाकार

यसैगरी आज उकेराले 'सामान्य प्रशासन मन्त्रालयलाई समेत नटेर्ने पहुँचवाला उपसचिव' शीर्षकमा लुम्बिनी प्रदेशको समाचार प्राथमिकतासाथ छाप्यो। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत २३ गते संघ अन्तर्गतका उपसचिव पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा बाराको महागढीमाई नगरपालिकामा सरुवा गरेकै अवस्थामा तत्कालीन मुख्यमन्त्री गिरीकै तजविजमा पाण्डेलाई यातायात कार्यालय रुपन्देहीमा सरुवा गरियो। 

नियमतः सामान्य प्रशासन मन्त्रालयले सरुवा बदर नगरेको अवस्थामा पाण्डे यातायात कार्यालयमा आउन मिल्दैन। तर गिरी नेतृत्वमा रहँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीले नियम मिचेर पाण्डेलाई यातायातमा सरुवा गरेको हो।

पूरा समाचारः सामान्य प्रशासन मन्त्रालयलाई समेत नटेर्ने पहुँचवाला उपसचिव

र अन्त्यमा उकेराले राति दक्षिण भारतीय फिल्म 'आदिपुरुष' मा काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले दिएकोअभिव्यक्तिलाई पनि प्रमुख समाचार बनाएर छाप्यो। 

'सस्तो लोकप्रियताका लागि अधिकारै नभएको क्षेत्रमा थर्काउँदै बालेन' शीर्षकमा उकेराले समाचार छापेको हो। 

फिल्ममा नेपालकी जानकी अर्थात् सीता भारतमा जन्मिएकी भन्ने संवाद समावेश छ। उक्त संवादले नेपालमा तरंग ल्यायो। नेपालमा चर्को विरोध भयो। सेेन्सर बोर्डले शब्द म्युट गरायो।

यसमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह थपिए। उनले आफ्नो कार्य क्षेत्राधिकार बाहिर गएर उक्त फिल्ममा समावेश गरिएको संवाद नहटाएर 'आदिपुरुष' मात्र नभई कुनै पनि भारतीय फिल्म महानगरभित्र चल्न नदिने चेतावनी दिए। 

पूरा समाचारः सस्तो लोकप्रियताका लागि अधिकारै नभएको क्षेत्रमा थर्काउँदै बालेन

जेठ ३२, २०८० बिहीबार २३:४८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।