हिरा बहादुरको हिजोका कुरा : दुई रुपैयाँ पाथी नुन किनेको मान्छे, अहिले त हजार नि पैसै हैन!

हिरा बहादुरको हिजोका कुरा : दुई रुपैयाँ पाथी नुन किनेको मान्छे, अहिले त हजार नि पैसै हैन!
तस्बिर : सुरेन्द्र थापा

काठमाडौं : ६८ वर्षका हिरा बहादुर मगर धादिङमा जन्मिए, हुर्किए। उनी धुनीबेसी नगरपालिका वडा नं ४ धादिङका स्थानीय बासिन्दा। सामान्य परिवारमा जन्मिएका हिरा बहादुरले त्यो समयमा लेख्न पढ्न पाएनन्। 

त्यस समयमा गाउँमा कसैलाई पनि लेखपढ गर्नुपर्छ भन्ने मतलबै थिएन। पढिहाले भने पनि क्षेत्री बाहुन समुदायका छोराहरूले पढ्थे। त्यो पनि कसै कसैले। त्यो पनि तिथि सराद गर्न, नत्र खेती किसानी नै।

काठमाडौंसँग जोडिएको धादिङमा बसोबास गर्नेहरूलाई पढाइभन्दा पनि काम कै कुरो कै महत्व हुन्थ्यो। खेती किसानीमै मन जान्थ्यो। उनले नपढे पनि काठमाडौंबाट बाहिर निस्किने पृथ्वी राजमार्ग बनाउन योगदान भने दिए।

उनले ११ वर्षको कलकलाउँदो जवानीमा खनेको बाटोबाट सयौं मोटरहरू वारपार गरिरहेका छन्। अझ भनौं उनले खनेको त्यो बाटो हुँदै कयौंले आफ्नो सपना बोकेर यात्रा गरेका छन् र गरिरहेका छन्।

हजारौंलाई आफ्ना घर र काठमाडौं जोड्ने काम गरेका हिरा बहादुर विगतका कुराहरू यसरी सुनाउँछन्।

खेतीपातीमै बित्यो बाल्यकाल 

मलाई सानोको भन्दा पनि १२, १३ वर्षको हुँदाका क्षणहरू बढि याद छन्। त्यसभन्दा अघिको मलाई खासै याद छैन। हाम्रो घर परिवारमा खान लाउन ठिकै थियो। त्यो समय जागिर भन्ने थिएन। खेतीपातीमा नै निर्भर हुन्थ्यौं। 

हाम्रो घरभन्दा २ किलोमिटर तल कोल्पु खोला छ। त्यो खोला तरेर नुवाकोटमा हाम्रो जग्गा छ। त्यहाँ पुग्नुपर्थ्यो। अहिलेको जस्तो मोटर पुगेको थिएन। गाउँ भरिका मान्छेहरू जम्मा भएर खेती लगाइन्थ्यो। त्यो बेला सबै मान्छेहरू मिलनसार थिए। अहिले त खै कोही मिलनसार देखिन्नँ। समय परिवर्तन भएछ क्या रे?

रोपाई गर्दा होस् या कुनै मेलापात, कसैले कसैलाई पैसा दिनु पर्दैनथ्यो। अहिले शिक्षाका कारणले होकी के हो? मान्छेहरू लोभी भइसके।

देशको भन्दा पनि विदेशको कुराहरूमा मान्छेहरू रमाइरहेको देख्छु म। विदेशी पैसामा रमाएका छन्। खेत बाँझो छोडेका छन्। अनि ठुलठुला कुरा गर्ने भएका छन्। पहिला त्यस्तो थिएन। हाम्रो पालामा एक मेलो, दुई मेलो भन्ने हुँदैन थियो। हल भन्ने हुन्थ्यो।

एकले कति रोपनी जग्गा जोतियो भन्ने कुरा हुन्थ्यो। ढिलो गोरुले जोत्दाखेरि पाँच रोपनी बराबर जोत्थ्यो भने छिटो गोरुले जोतियो भने आठ रोपनीसम्म सकिन्थ्यो। हामीले बिहान १२ बजेदेखि बेलुका पाँच बजेसम्म जोत्दाखेरि यतिका मेलो सकिन्थ्यो। 

खेतबारीमा काम गर्दा, गोरु जोत्दा बेग्लै आनन्द आउँथ्यो। खेतबारीमा धान रोप्ने रोपारहरू ५०, ६० जना हुन्थें। 

हिउँदमा मात्रै हो अलिअलि अल्छी लाग्ने नत्र बर्खा, वैशाख, जेठमा त सबैकोमा पालैपालो जोतिन्थ्यो। अहिले बर्खा लाग्न थाल्यो म ति पुराना दिनहरू सम्झन्छु। तर, त्यस्तो रमाइलो मलाई अहिले लाग्दैन। 

ऐंचोपैंचो चल्थ्यो, अहिले चल्दैन 

ऐंचोपैंचो चल्ने, जन्ती मलामी सबै भेटिन्थें। अर्को कुरा कसैको घर बनाउनुपर्यो भने एक सुको पैसा लाग्दैनथ्यो। गाउँमा मान्छे नै सबै भेला भएर घर बनाउने, छानो छाउने काम गर्थे।

मैले पनि अरूको घर छाएको छु, मेरो पनि घर छाएका छन्। बेग्लै रमाइलो थियो नि। हाम्रो खर्च तीनचोटि कट्टा हुन्थ्यो। एक खेप घडेरी खार्दा, अर्को जग हाल्दा। अर्को अर्मपर्मको हिसाब हुन्थेनँ।

छिमेकमा अप्ठ्यारो परेको छ भने आफूले भ्याउने र सक्ने समय जति छ आएर काम थालिहाल्ने चलन थियो। घरको तला थप्ने बेलामा पानी चाहिन्थ्यो, अहिलेको जस्तो नजिकै थिएन। पानी लिन एक घण्टा बराबर हिंड्नुपर्थ्यो। 

तीन वटा कुवा थिए। एउटा कुवाको नाम ढुंगे पानी, अर्कोको भोले खोल्सा, धारापानी भन्ने थियो।

अहिले त्यो पानीको मुल हरायो। ७२ सालको भुकम्पले गर्दा सुक्यो। नत्र आइरहेको थियो। त्यति टाढाबाट पानी बोकेर हामी घरको तला थप्थ्यौं।

आज मेरो घरमा तला थप्ने है भनेपछि सबै गाउँका मान्छे भेला भएर पानी बोक्ने अनि तला थप्ने काम हुन्थ्यो। कसैले कसैलाई पैसा दिने भन्ने हुँदैनथ्यो।

गाई, भैंसी पालेर दही, दूध खाने चलन थियो। म बिहान बेलुका आधा माना दूध खान्थें। घिउ चाहिं मेरो अलि कम खाने बानी थियो। खानेले त मानाका माना खान्थे।

उ बेलामा अहिलेको जस्तो चाँडो मान्छे मर्दैन थिए। ७० देखि ८० वर्षको हुँदा पनि तगडा हुन्थे। मेरो हजुरबा नै १ सय १ वर्षमा बित्नुभएको हो। अहिलेका त ३०, ४० वर्ष मै ऐया र आत्था भन्छन्।

मट्टितेल लिटरमा हैन मानामा 

धादिङबाट हामी काठमाडौंको असन बजारमा सामान किन्न आउँथ्यौं। ६ महिना घरमा पुग्ने सामान बोकेर घर फर्किन्थ्यौं।

त्यो समयमा किलो काँटा, लिटर केही चल्दैन थियो। माना, पाथी, कुरुवा, धार्नी भन्ने चल्थ्यो। हामीले मट्टितेल काठमाडौंमा किन्न आउँदा माना, पाथीमा नै किन्थ्यौं। अहिलेको जस्तो लिटर थिएन।

लिटर त पछि चलेको हो। वि.स. २०४० सालपछि मात्रै लिटरको कुरा आएको हो। त्योभन्दा अघि मैले लिटरमा कारोबार गरेको देखिनँ।

मलाई यो लिटर भनेको कति हो थाहै छैन। धार्नी, मानो, कुरुवा, चौथाइ, आधा चौथाइ भन्ने मात्रै थाहा छ। अहिले ढक भन्दा त हामी भुलिन्छौं।

एक माना मट्टितेलको एक रुपैयाँ पर्थ्यो। अहिले लिटरको हिसाब हुन्छ। तेल किन्दा मानाको कति हो, कुरुवाको कति हो भन्दा ४ रुपैयाँ ,पाँच रुपैयाँ भन्थे। 

चार रुपैयाँ, पाँच रुपैयाँ भन्दा ओहो यति महँगो तेल खान सकिन्छ भन्ने हुन्थ्यो। घरमा गाई, भैंसी ब्याएपछि त्यही घिउ खाने भन्थे।

अब तेल किनेर खान सकिंदैन। बारीमा तोरी, साउनमा छर्ने झुसे तिल (फिलुङ्गो) लगाउँथ्यौं। त्यो बेलाको तेल कहाँ अहिलेको जस्तो हुन्थ्यो र! अलिकति तेल कराईमा लगाउँदा पुरा चिल्लो हुन्थ्यो। त्यो किन्न नेपाल (काठमाडौं) आउनुपर्थ्यो।

नुन २ रुपैयाँको एक पाथी आउँथ्यो। अहिलेको आयो नुन होइन, त्यो बेला ढिके नुन भन्ने पाउँथ्यो। यो पनि दुई थरीका थिए। धुलो नुन पनि थियो, तर त्यो खाँदैनथे। धुलो नुन खायो भने त लुतो आउँछ भन्थे। दुई रुपैयाँ पाथी नुन खाएको, अहिले एक मानो जति नुनलाई २५ रुपैयाँ तिर्नु परेको छ।

भारी बोकेर असन बजारको यात्रा 

गाउँबाट शहर आउँदा ढाकरमा फलफूल बोकेर आउँथ्यौं नेपालमा बेच्नलाई। फलफूलमा आँप, अम्बा, जे-जे घरमा फलेका छन् ति सबै बोकेर नेपाल (काठमाडौं) आउने गर्थ्यौं।

हाम्रो पालामा त काठमाडौंलाई नेपाल भन्थे। पछि पछि काठमाडौं भएको हो। केही किन्नुपर्यो भने नेपाल जाने भन्थे। अनि यता आएपछि ४, ५ महिनालाई पुग्ने गरि सामान बोकेर घर फर्किन्थ्यौं।

सय रुपैयाँ हुने हो भने त्यो बेलामा सबै कुरा किन्न पुग्थ्यो। अहिले त हजार पनि पैसै होइन जस्तो भइसक्यो।

काठमाडौं आउँदा नौबिसेको डाँडै डाँडा भारी बिसाउँदै बिसाउँदै आउनुपर्थ्यो। बाटो भर्खर गोरेटो बन्दै थियो। अनि बाटोमा खान भुटेको मकै, कोदोको रोटी, गहुँको रोटी हुन्थ्यो।

काठमाडौं आउँदा थुप्रै गाउँका साथीहरू मिलेर आउँथ्यौं। आज नेपाल (काठमाडौं) जाने है भनेपछि थुप्रै जना भेला भइन्थ्यो। सँँगै आइन्थ्यो।

भारी नबोकी आएको मान्छे एकै दिनमा फर्किन्थे भने भारी बोकेर आएको मान्छे भोलिपल्ट फर्किन्थे। किनभने लामो बाटो भारी बोकेर ६, ७ घण्टा हिंडेर फेरि सामान किनेर उति नै खेर फर्कन सम्भव थिएन।

हामी काठमाडौं आउँदा डाँडापौवा भन्ने ठाउँमा बास बस्थ्यौं। बास बस्दाखेरि विभिन्न ठाउँका मान्छेहरू भेट हुन्थे। कोही डाँडा पारिका भन्थे , कोही गोर्खाको भन्थे। बास बस्ने ठाउँमा को के खाने भन्ने सल्लाह हुन्थ्यो। अनि पकाएर खाइन्थ्यो।

भोलिपल्ट बिहान काठमाडौंको नरदेवीमा आइपुग्थ्यौं। त्यो ठाउँमा आफूले ल्याएको अनि आफूलाई चाहिने सामानहरूको किनबेच हुन्थ्यो।

हामीले ल्याएको सामान त्यहाँ बेच्ने, त्यही पैसाले आफूलाई आवश्यक परेको सामान किन्ने। किनमेल गरिसकेपछि असन बजार जान्थ्यौं। असन बजार हुँदै कालीमाटी निस्किएर कलंकी हुँदै घर लाग्थ्यौं।

त्यो बेला कालीमाटीबाट हेटौडा जाने एउटा, दुइटा गाडी पनि चल्थ्यो। एक मोहर भाडा थियो। तर डोको बोक्नेहरूलाई चढाउँदैनथ्यो। सुकिला- मुकिला मात्रै चढाउँथ्यो। अनि हामी डोको बोक्नेहरू हिंडेरै घर फर्किन्थ्यौं। 

मैले थाहा पाउँदा गाउँमा पञ्च भन्ने थिए। राजा महेन्द्र हुँदा गाउँमा ३ जना मान्छेले काम गर्थे। वडामा एक जना हुन्थे, उपप्रधानपञ्च। प्रधानपञ्च ३ जनाले एउटा गाउँ नै चलाउँथे। अहिलेको जस्तो ४०, ४५ जना हुँदैनथे। त्यति बेला पार्टीको मान्छे भन्ने चलन थिएन।

कसैको झगडा पर्यो भने वडाध्यक्षले जो-जो झगडा गरेका हुन् तीनैलाई राखेर छलफल चलाउथे। कसले के गरेको हो भन्ने कुरामा छलफल हुन्थ्यो। त्यही छलफलमा कुरा मिल्यो भने ठिकै छ नत्र चिठी काटेर प्रधानपञ्चकोमा जानुपर्थ्यो। त्यहाँ पुगेपछि गल्ती गर्नेले सजाय पाउँथ्यो।

अहिले त को कसको मान्छे, कुन पार्टीको हो भन्ने कुरा आउँछ। त्यो बेलामा त्यस्तो थिएन।

पहिलो पटक काठमाडौं आउँदा 

पहिलो पटक म नेपाल (काठमाडौं) आउँदा ११ वर्षको थिएँ। त्यो समयमा म पृथ्वीराजमार्गमा काम गर्थें। त्यो बेला काठमाडौं आउन पृथ्वी राजमार्गको ट्रयाक खोलेकै हामीहरूले हो। त्यहाँ चौकीदार काम गर्थें। मैले त्यहाँ काम गर्दा पारिश्रमिक महिनाको ६० रुपैयाँ थियो।

त्यसै बेलामा म पहिलो पटक चिनियाँहरूको गाडीमा नेपाल (काठमाडौं) आएको हो। त्यो बेलामा सडकमा काम गर्नेहरू स्थायी र अस्थायी भन्ने थियो। हामीहरू चाहिं अस्थायी थियौं। अनि काठमाडौं हेरौं न त भनेर उनीहरूकै गाडीमा काठमाडौं आएको थिएँ। 

उनीहरूसँग आउँदा पैसा तिर्नु पनि पर्दैन थियो। पैसा तिर्नु नपर्ने भएपछि एक पटक नेपाल (काठमाडौं) हेरेर आउँछु भनेर आएको थिए। यहाँ आएपछि ओहो, जताततै जंगलै जंगल। दिसा पिसाब गर्दा पनि यहाँका विष्णुमती, बागमती नदीको छेउ कुनामा बसेर गर्ने।

जताततै सिस्नुघारी, बकैनाको बोट, नरकटको बोट थियो। अलिक ठूलो घर हेर्नुपर्यो भने कि वसन्तपुर कि असन जानुपर्थ्यो। नत्र सबै झिंगटीका घरका छाप्रो। ढलानका घर कहाँ थियो र!

पहिला कति हाते घर भन्ने हुन्थ्यो। कसैको २२ हाते घर, कसैको २४ हाते घर भन्ने थिए। अहिले त आनाका कुरा गर्छन्। त्यो बेला हातेको कुरा हुन्थ्यो।

यो पनि

असार १, २०८० शुक्रबार ०८:२३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।