‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद म्युट गरेर ‘आदिपुरुष’को सेन्सर पास
काठमाडौं : दक्षिण भारतीय फिल्ममा भएको विवादित ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद म्युट गरेर नेपालमा सेन्सर पास भएको छ।
सेन्सरमा सहभागी एक अधिकारीका अनुसार उक्त विवादित संवाद म्युट गरेर चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सर पास भएको हो। फिल्मलाई युनिभर्सल अर्थात सबैले हेर्न मिल्ने श्रेणीको प्रमाणपत्र दिइएको छ।
यसअघि सोही संवादका कारण फिल्मको सेन्सर रोकिएको थियो। भ्रमपूर्ण संवादलाई कारण देखाउँदै बोर्डले नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिएको थिएन।
बोर्डले सो संवाद हटाए मात्रै सेन्सर पासको प्रमाणपत्र दिने निर्णय गरेको थियो। बोर्डको निर्णयअनुसार फिल्मको नेपाल बितरकले उक्त संवाद म्युट गरेका थिए।
जानकी नेपालको जनकपुरमा जन्मिएको पौराणिक कथनमा अहिलेसम्म कतैबाट विवाद आएको छैन। तर, सो फिल्ममा जानकी भारतको छोरी भएको भ्रम फैलाइएको छ।
फिल्ममा विवादित संवाद भएको थाहा भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन)ले तीन दिनभित्र उक्त संवाद हटाउन अल्टिमेटम दिँदै महानगरभित्र हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका थिए।
उनले भनेका थिए, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन। यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस।’
उनकाे यो भनाइपछि चलचित्र क्षेत्रमा झनै तरङ्ग पैदा भएको छ।
जेठ ३२, २०८० बिहीबार २०:४६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।