फिलिपिन्ससँग १-० गोलले हार्यो नेपाल
काठमाडौं : साफ च्याम्पियनसिपको तयारीको स्वरूप अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ।
फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा नेपाल १-० ले पराजित भएको हो।
दोस्रो हाफको सुरुवातमा लिएको अग्रता नै फिलिपिन्सका लागि जित निकाल्न पर्याप्त रह्यो।
आफ्नै गल्तीमा पछि परेको नेपालले बराबरी गर्ने अवसर पाएको थियो, तर गोलरक्षकले केहि उत्कृष्ट बचाउ गर्दै घरेलु टोलीलाई जित दिलाए।
४९ औं मिनेटमा फिलिपिन्सले नेपालको कमजोरीको फाइदा उठाउँदै अग्रता लियो। कर्नरमा आएको बललाई पुजनले ६ यार्ड बक्स भित्रबाट क्लियर गर्न नसक्दा जाभिएर गायोसोले पोस्टको दिशा दिएका थिए।
६२औं मिनेटमा नेपाल खेल बराबरी गर्नबाट चुक्यो। एरिक विष्टको फ्रिकिकमा अनन्त तामाङको हेडर पोस्टमा लागेर फर्किएको थियो।
नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्नेछ। साफ च्याम्पियनसिप भारतको बैंग्लोरमा ६ देखि १९ असारसम्म हुँदैछ।
साफ च्याम्पियनसिपमा नेपाल आयोजक भारतसँगै पाकिस्तान र आमन्त्रित टोली कुवेतको समूहमा छ।
अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्।
जेठ ३२, २०८० बिहीबार २०:१२:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।