कुशल र भीमको सम्हालिएको ब्याटिङमा ओमानमाथि नेपालको जित
काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअघिको दोस्रो वार्मअप खेलमा ओमानमाथि नेपालले दुई विकेटको जित निकालेको छ।
२६८ रनकाे विजयी लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ५ बलमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।
नेपालका लागि कुशल भुर्तेलले शतक र भीम सार्कीले अर्धशतक प्रहार गरे।कुशलले ९१ बलमा १३ चौका र २ छक्कासहित शतक प्रहार गर्दा भीमले ६५ बलमा ८ चौकासहित अर्धशतक प्रहार गरे।
भुर्तेलले १०१ रनमा रिटायर्ड आउट लिए भने सार्कीले ५६ रन बनाए।
यस्तै, कप्तान राेहित पौडेलले ३१, दीपेन्द्रसिंह ऐरीले २६, आशिफ शेखले २३, कुशल मल्लले १७ रन बनाए।
नेपालका लागि अन्तिम ४५औं ओभरमा खेल रोमाञ्चक बन्यो। पहिलो बलमा डट भएको ओभरको दोस्रो बलमा आरिफ शेख २ रन बनाएर आउट भए। तेस्रो बल सामना गर्न आए प्रतिश जीसी।
तेसो बल डट हुँदा चौथो बलमा उनी पनि आउट भए। त्यसपछि ओभरको पाँचौं बल सामना गर्न आए सन्दीप लामिछाने। उनले पहिलो बलमै छक्का प्रहार गरेर विजयी रन बनाए।
त्यसपछि आएका सन्दीप लामिछानेले छक्का प्रहार गरेर खेल जिताए। त्यसअघि नै मैदान छिरेका साेमपाल कामी एक रन पनि नखेली अविजित रहे।
बलिङतर्फ ओमानका अकिल इलियासले चार, बटले दुई र खलिमुल्लाहले एक विकेट हात पारे।
त्यसअघि जिम्बावेको हरारेमा टस जितेर पहिला ब्याटिङ गरेको ओमानले ४९.२ ओभरमा सबै विकेट गुमाएर २६७ रन बनाएको थियो।
ओमानका लागि कप्तान जिसन मक्सुदले शतकीय पारी खेले। उनले १०६ बलमा १०९ रन बनाए।
यस्तै, आयान खानले ५६, सोहेब खानले ३८, नसीम खुसीले १७ र सन्दीप गौडले १५ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका सोमपाल कामीले ५, सन्दीप लामिछानेले ३ तथा करण केसी र प्रतीश जीसीले समान एक–विकेट लिए।
एक समय ७ सातमा चार विकेट गुमाएको ओमानलाई कप्तान मक्सुद र साहेब खानले ८४ रनको साझेदारीले उकास्यो। त्यसपछि मक्सुदले नै आयान खानलाई ११५ रनको अर्को साझेदारी गरे।
यसअघि भएको पहिलो वार्मअप खेलमा युएईसँग नेपाल ३ विकेटले पराजित भएको थियो। त्यसअघि दक्षिण अफ्रिकामा भएको स्कटल्याण्ड र नेदरल्याण्ड्सँगको अभ्यास खेलमा पनि पराजित भएको थियो।
विश्वकप छनोट अन्तर्गत नेपालले आफ्नो पहिलो खेल आयोजक जिम्बावेसँग आइतबार खेल्नेछ।
जेठ ३२, २०८० बिहीबार १९:५६:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।