फ्यानलाई अनलाइन बेटिङमा लोभ्याएर २५ प्रतिशतसम्म कमिसन खाँदा प्रहरीको बल्छीमा परे आठ कलाकार

फ्यानलाई अनलाइन बेटिङमा लोभ्याएर २५ प्रतिशतसम्म कमिसन खाँदा प्रहरीको बल्छीमा परे आठ कलाकार

काठमाडौं : नेपालका चर्चित हास्य कलाकारदेखि युट्युबरसम्म अनलाइन बेटिङ ‘वान एक्स बेट’मा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा पुगे।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूमाथि वान एक्स बेटको प्रमोशन कोड लिएर युट्युब च्यानलबाट विज्ञापन गरेको आरोप लगाएको छ।

कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी), एलिस राई, ज्वलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगमन नेपाली पक्राउ परेका हुन्।

वान एक्स बेट अनि क्रिप्टोको विज्ञापनमा यसअघि चर्चित क्रिकेटरदेखि नायिका प्रियंका कार्कीसम्मै जोडिए पनि प्रहरीले पक्राउ गरेको थिएन। अन्यले दुरुपयोग गरेको दाबीका आधारमा उनीहरूले उन्मुक्ति पाएका थिए।

तर बिहीबार एकाएक चर्चित कलाकारहरू नै पक्राउ परे। प्रहरीले कानुनत: प्रतिबन्धित अनलाइन जुवा खेलाउने गरेको, अड्कलको आधारमा अनलाइन बाजी राख्न लगाउने गरेको लगायतका आरोपमा पटक-पटक समूह र व्यक्ति पक्राउ गर्ने गरेको छ। त्यही क्रममा बिहीबार यो लहरो कलाकारसम्म पुगेको हो।

कसरी पुग्यो प्रहरी कलाकारसम्म ?
प्रहरी कार्यालयले बुधबार वान एक्स बेटमा संलग्न रहेको आरोपमा दिनेश खड्का, अनिता धिताल, दिपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछानेलाई पक्राउ गर्यो।

अस्वाभाविक बैंकिङ कारोबार भएको आधारमा केही एजेन्टहरू प्रहरीको निगरानीमा परेका थिए। पिन्टु शाह र रामविलास थारूमाथि प्रहरीले निगरानी बढाएको थियो।

पिन्टुको खाताबाट  १० करोड अनि रामविलासको खाताबाट ७ करोड रूपैयाँको कारोबार भएको देखियो। तर, कारोबारको स्रोत खुलेन।

प्रहरी यी दुवैको खोजीमा लाग्दा दिनेश खड्काकोमा पुग्यो। अनुसन्धान गर्दा पिन्टु र रामविलासको नक्कली परिचय दिनेशकै रहेको खुल्यो।

उनले विभिन्न व्यक्तिको कागजातबाट ६३ वटा बैंक र मोबाइल बैंकिङ खाता खोले। त्यसमध्येको १२ वटा खाताबाट मात्रै ६४ करोड रुपैयाँ कारोबार भएको कार्यालयका एसएसपी मनोज केसीले मंगलबार सार्वजनिक गरेका थिए।

उनले क्रिप्टोको कारोबार गर्न श्रीमतीको कानूनी परिचयको प्रयोग गरे। श्रीमती पनि उनीसँगै पक्राउ परिन्। दिनेशबाट खुलेको आधारमा अन्य व्यक्ति पक्राउ परे।

बुधबारै दिएको थियो प्रहरीले संकेत
दिनेश समूह सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनसँगै प्रहरीले यो गिरोहका अन्य ठूला खेलाडीसमेत पक्राउ पर्नसक्ने संकेत गरेको थियो।

बिहीबार एकाएक हास्य कलाकार अनि चर्चित युट्युबर पक्राउ परे। प्रहरीले नाम र आरोप पनि सार्वजनिक गर्यो।

उनीहरूसम्म पुग्ने आधार, दिनेश समूहबाट आएको जानकारी र प्रहरीको अनुसन्धान मुख्य देखियो।

‘केही कलाकारले वान एक्स बेटको प्रमोशनल कोड नै लिएर आफ्नो यूट्युब च्यानलमार्फत प्रमोशन गरेको सूचना आएको थियो,’ कार्यालयका एसपी रविन्द्र रेग्मीले भने,  ‘उनीहरूको भूमिकाबारे अनुसन्धान गर्दा आफ्नो च्यानलमा प्रमोशनल कोड प्रयोग गर्ने र त्यसबाट कोही वान एक्स बेटको सदस्य बनेर जुवा लगायतमा संलग्न भए कमिशन पाउने देखियो। कमिसन लिएको देखिएपछि पक्राउ गरिएको हो।’

कसरी आउँछ कमिशन?
वान एक्स बेटबारे जानकार स्रोतका अनुसार यो नेटवर्किङ व्यवसाय जस्तै हो। आफ्नोबाट जति नयाँ सदस्य बनेर जुवा खेले, त्यति बढि कमिशन आउँछ।

युट्युब च्यानलमा प्रमोशनल कोड राखेपछि विज्ञापन देखाउँछ। त्यसमा कसैले क्लिक गरेर वान एक्स बेटको सदस्य बनेमा जसको कोड प्रयोग भएको हुन्छ ती सदस्य उसकै लिस्टमा चढ्छ।

ती व्यक्तिले वान एक्स बेटबाट जति पनि कारोबार गर्छन् त्यसको पाँचदेखि २५ प्रतिशतसम्म कमिशन पहिला जसको कोड प्रयोग भएको हो उसैले पाउँछ।

बल्छी धुर्वे लगायतका कलाकार र युट्युबरमाथि यही आरोप हो। अनलाइन बेटिङ र जुवाले मान्यता पाएको देशमा यो वैध हो। तर, नेपालको कानूनले कुनै पनि प्रकारको जुवा स्वीकार नगरेकाले यो अवैध हो।

कलाकारहरूले सिधै जुवा नखेलाए पनि आफ्नो डिजिटल च्यानलमार्फत जुवा खेल्न प्रोत्साहित गरेको र त्यसबापत कमिसन लिएको प्रहरीको आरोप देखिन्छ।

जेठ ३२, २०८० बिहीबार १८:२९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।