भुटानी शरणार्थीलाई सहायता गरेकोमा अस्टेलियन राजदूतद्वारा नेपालको प्रशंसा

भुटानी शरणार्थीलाई सहायता गरेकोमा अस्टेलियन राजदूतद्वारा नेपालको प्रशंसा

काठमाडौं : नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले भुटानी शरणार्थीलाई नेपाल सरकारले प्रदान गरेको सहायताको प्रशंसा गरेकी छन्।

बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको शिष्टाचार भेटमा नेपालस्थित विदेशी नियोगहरूको शरणार्थी सहायता समूहको सह–अध्यक्षसमेत रहेकी भोल्कले नेपालले भुटानी शरणार्थीहरूलाई प्रदान गरेको सहायता र सदासयताको प्रशंसा गरिन्।

यस्तै श्रेष्ठ र भोल्कबीचको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अस्ट्रेलियाको सम्बन्ध सधैँ सौहार्दपूर्ण रहेको उल्लेख गर्दै अष्ट्रेलियायाले नेपाललाई प्रदान गर्दै आएको सहायताको लागि विशेष धन्यवाद दिए।

नेपाल आर्थिक विकासमा लागेको र त्यसका लागि विदेशी लगानी आवश्यक रहेको भन्दै उनले खासगरी कृषि र ऊर्जामा अष्ट्रेलियाबाट साथ र समन्वयको अपेक्षा गरेको बताए।

जवाफमा राजदुत भोल्कले नेपालजस्तो आत्मीय देशको विकास साझेदार हुन पाउँदा आफूहरूलाई खुशी लागेको र भर्खरै उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयसँग पनि साझेदारी बढाउने तर्फ सहकार्य भैरहेको बताइन्।

व्यापारमा समेत साझेदारी गर्न अस्ट्रेलिया इच्छुक रहेको र दुईदेशबीच उच्चस्तरीय व्यापार सम्झौताको तयारी भैरहेको राजदुत भोल्कले बताइन्। त्यसका लागि अक्टोबर महिनामा अष्ट्रेलियाका उच्च अधिकारीहरू नेपाल आउनेसमेत उनले जानकारी दिइन्।

जेठ ३२, २०८० बिहीबार १८:०३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।