मन्त्रालयगत छलफलमा मन्त्री नै अनुपस्थित, डेढ घण्टापछि प्रतिपक्षी दलको विरोध

मन्त्रालयगत छलफलमा मन्त्री नै अनुपस्थित, डेढ घण्टापछि प्रतिपक्षी दलको विरोध

काठमाडौं : प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्वू उपस्थित नभएपछि विनियोजन विधेयक, २०८० अन्तर्गत उक्त मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल हटाइएको छ।

बिहीबारको बैठकमा युवा तथा खेलकुद, वन तथा वातावरण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो।

मन्त्रालयगत छलफल प्रारम्भ भएको करिब डेढ घन्टापछि प्रमुख प्रतिपक्षी एमाले सांसद् सूर्यबहादुर थापाले मन्त्री उपस्थित नभएसम्म छलफल अगाडि बढ्न नसक्ने भन्दै विरोध गरेपछि सभामुख देवराज घिमिरेले उक्त मन्त्रालयसँग सम्बन्धित विषयलाई कार्यसूचीबाट हटाइएको जानकारी गराए।

यसअघि शहरी विकास मन्त्रालयसँग सम्बन्धित पुस्तिका प्राप्त हुन नसेकपछि बैठकमा तय भएको उक्त मन्त्रालयमाथिको छलफलको कार्यसूची पनि हटाइएको थियो।

बैठक सञ्चालनका क्रममा उपसभामुख इन्दिरा रानाले युवा तथा खेलकुदमन्त्री लिम्बू विदेशमा रहेको र मन्त्रालयको कार्यभार सम्हालेका अर्का मन्त्रीलाई बैठकमा उपस्थित हुन खबर गरिएको बताएकी थिइन्।

उनले उक्त मन्त्रालयको सचिवसहितको टोली छलफलमा उठेका विषयको टिपोटका लागि उपस्थित भएको पनि जानकारी गराएकी थिइन्।

सांसद सूर्य थापाले मन्त्री विदेशमा भए, स्वदेश फर्केपछि सम्बन्धित मन्त्रालयका बारेमा छलफल गर्न सकिने भन्दै उक्त मन्त्रालयसँगको छलफललाई कार्यसूचीबाट हटाउन माग गरे।

मन्त्री उपस्थित नभएको तथा मन्त्रालयका सचिव बैठकमा बसेको भन्ने उपसभामुखको रुलिङलाई मान्न नसकिने जनाउँदै थापाले उक्त मन्त्रालयको छलफल अर्को दिन राख्न माग गरे।

‘सचिवज्यू देख्दैनौँ यहाँ, यदि युवा तथा खेलकुदमन्त्री हुनुहुन्न भने यो विषयलाई आजको कार्यसूचीबाट हटाइयोस् र उहाँ स्वदेश फर्केपछि छलफलमा राखियोस्,’ उनले भने, ‘मन्त्री बेगरको छलफल नगरियोस्।’

जेठ ३२, २०८० बिहीबार १६:३३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।