दोस्रो वार्मअप खेलमा नेपाललई २६८ रनको लक्ष्य, सोमपालले लिए पाँच विकेट
काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअघिको दोस्रो वार्मअप खेलमा ओमानले नेपाललाई २६८ रनको लक्ष्य दिएको छ।
जिम्बावेको हरारेमा भएको खेलमा ४९.२ ओभरमा सबै विकेट गुमाएर २६७ रन बनाएसँगै नेपालले २६८ रनको लक्ष्य पाएको हो।
ओमानका लागि कप्तान जिसन मक्सुदले शतकीय पारी खेले। उनले १०६ बलमा १०९ रन बनाए।
यस्तै, आयान खानले ५६, सोहेब खानले ३८, नसीम खुसीले १७ र सन्दीप गौडले १५ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका सोमपाल कामीले ५, सन्दीप लामिछानेले ३ तथा करण केसी र प्रतीश जीसीले समान एक–विकेट लिए।
एक समय ७ सातमा चार विकेट गुमाएको ओमानलाई कप्तान मक्सुद र साहेब खानले ८४ रनको साझेदारीले उकास्यो। त्यसपछि मक्सुदले नै आयान खानलाई ११५ रनको अर्को साझेदारी गरे।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
यसअघि भएको पहिलो वार्मअप खेलमा युएईसँग नेपाल ३ विकेटले पराजित भएको थियो। त्यसअघि दक्षिण अफ्रिकामा भएको स्कटल्याण्ड र नेदरल्याण्ड्सँगको अभ्यास खेलमा पनि पराजित भएको थियो।
विश्वकप छनोट अन्तर्गत नेपालले आफ्नो पहिलो खेल आयोजक जिम्बावेसँग आइतबार खेल्नेछ।
जेठ ३२, २०८० बिहीबार १६:१५:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।