नेपालविरुद्ध ओमानी कप्तान मक्सुदको शतक
काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअघिको दोस्रो वार्मअप खेलमा नेपालविरुद्ध ओमानका कप्तान जिसन मक्सुदले शतक प्रहार गरेका छन्।
जिम्बावेको हरारेमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानका कप्तान मक्सुदले १०० बलमा १४ चौका र १ छक्काको मद्दतमा शतक बनाएका हुन्।
यसअघि तीन खेलमा विश्राम दिएका स्पिनर सन्दीप लामिछानेलाई नेपालले आज मैदान उतारेको छ।
नेपालका तीव्र गतिका बलर सोमपाल कामीले पाँचौं ओभरको पहिलो बलमा ओपनर कश्याप प्रजापतिलाई शून्यमा आउट गरेका थिए। सोमपालको बलमा प्रजापति कट एण्ड बोल्ड आउटको शिकार हुन पुगेका थिए।
त्यसको एक बलपछि अर्का ओपनर अकिब इलियास अफ साइडको बल एज लागेर विकेटकिपर आसिफ शेखबाट शून्यमा क्याच आउट हुन पुगे। अकिबले वार्मअप खेलमा यसअघिको खेलमा जिम्बावेविरुद्ध शतक हानेका थिए।
करण केसीको छैटौं ओभरको पाँचौं बलमा अर्का ओपनर जतिन्दर सिंह ५ रनमा क्याच आउट हुन पुगे। सोमपाल कामीले सातौं ओभरको दोस्रो बलमा मोहम्मद नदीमलाई एक रनमा कुशल भुर्तेलबाट क्याच गराएपछि ओमान ७-४ को दयनीय अवस्थामा पुगेको थियो।
जेठ ३२, २०८० बिहीबार १५:४३:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।