धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो? - संसद्मा रघुजी पन्तको प्रश्न

धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो? - संसद्मा रघुजी पन्तको प्रश्न

काठमाडौं : एमालेका सांसद रघुजी पन्तले नेपालको असंलग्न परराष्ट्र नीतिबारे सरकारको धारणा माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै पन्तले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।

उनले राजदूत शर्माले दिएको अन्तर्वार्तामा नेपालको धर्मनिरपेक्षतामा प्रश्न खडा गरेको बताए।

‘नेपालको संविधानमा धर्मनिरपेक्षताको कुरा छ। तर राजदूतले त्यहाँ गएर धर्मनिरपेक्षाताको विपरीत कुरा गर्नुहुन्छ,‘ उनले भने, ‘धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो? यो संसद्लाई स्पष्ट पारियोस्।’

‘नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग हुँदै आएको छ। पछिल्लो समययता असंलग्न परराष्ट्र नीतिमा खलबल हुन थालेको छ,’ उनले थपे।

सांसद पन्तले इपिजीको प्रतिवदेनमा राजदूत शर्माको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने, ‘के इपिजीको प्रतिवेदन प्रभुत्व व्यक्ति समूहबारे राजदूतले व्यक्त गरेको विचारले नेपाल सरकारको प्रतिनिधित्व गर्छ? गर्छ भने यो आपत्तिजनक र खेदपूर्ण छ।’

जेठ ३२, २०८० बिहीबार १२:४७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।