अर्थमन्त्रालयको तार काट्ने मुसा पशुपतिनाथमा पस्यो, हाल पर्यटनमन्त्रीको संरक्षणमा छ : प्रेम आले

अर्थमन्त्रालयको तार काट्ने मुसा पशुपतिनाथमा पस्यो, हाल पर्यटनमन्त्रीको संरक्षणमा छ : प्रेम आले

काठमाडौं : एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्थमन्त्रालयको तार काट्ने मुसा अहिले पशुपतिनाथमा प्रवेश गरेको बताएका छन्।

आज (बिहीबार) को प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वपर्यटनमन्त्री समेत रहेका आलेले पशुपतिनाथ पसेको त्यस मुसालाई हालका पर्यटनमन्त्री सुदन किरातीले संरक्षण गरेको आरोप लगाए।

‘गतवर्ष अर्थमन्त्रालयमा तार काट्ने मुसा यस वर्ष पशुपतिनाथमा छिरेको छ। पहिलो पटक २०७९ माघ १४ गते तार काटियो। परिषद् सदस्यको संयोजकत्वमा छानबिन समिति गठन भयो। प्रतिवेदनले सत्यतथ्य पत्ता लगायो,’ उनले भने, ‘तर, पर्यटन मन्त्रीले तार काट्ने मुसालाई नसमातेर उल्टै छानबिन समितिका संयोजक देवि बराललाई पुरस्कार स्वरूप सदस्यबाट हटाउने काम गर्यो।’

‘प्रतिवेदन लुकाइयो। चोरलाई संरक्षण गरियो। त्यसपछि चोरले बल पाएर २९ गते पनि तार काट्यो। अनि घ्याम्पे दानपेटीका हरायो। मूर्ति तथा बहुमूल्य सम्पदा चोरिएको छ। कोषको अध्यक्ष र मन्त्री पदाधिकारी मस्त निद्रामा छन्,’ उनले थपे।

जेठ ३२, २०८० बिहीबार १२:१४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।