प्रहरीलाई चिनियाँ भाषा तालिम, पहिलो चरणको प्रमाणपत्र वितरण

प्रहरीलाई चिनियाँ भाषा तालिम, पहिलो चरणको प्रमाणपत्र वितरण

काठमाडौँः प्रहरीलाई चिनियाँ भाषा तालिम प्रदान गरिएको छ।

पर्यटक प्रहरी, इमर्जन म्यान्डरिन एकेडेमी (आईएमए) र इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा पहिलो चरणको दुई महिने चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र दिइएको हो।

प्रशिक्षणमा सहभागी पर्यटक प्रहरीलाई बुधबार प्रमाणपत्र वितरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रशिक्षणले पर्यटक प्रहरीलाई चिनियाँ पर्यटकसँग सञ्चार गर्न र उनीहरूको समस्या तत्काल समाधान गर्न सहज हुने बताए।

उनले पर्यटक प्रहरीलाई अन्य भाषाको पनि प्रशिक्षण दिन जरुरी रहेको उल्लेख गरे।  चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपाल र चीन छिमेकी मुलुक भएकाले एकापसमा भाषा जाने हरेक कुरामा सहज हुने बताए। 

चिनियाँ राजदूतवासका काउन्सिलर वाङ्छिन, नेपाल पर्यटन बोर्डका महानिर्देशक होमप्रसाद लुइँटेल, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठलगायतले प्रशिक्षणबाट पर्यटक प्रहरीलाई काम गर्न थप हौसला मिल्ने बताए। 

कार्यक्रममा भाषा प्रशिक्षणमा सहभागी पर्यटक प्रहरी लक्ष्मण राउत, कुमारबहादुर खड्का, सुनिता नेपाल, शुभराज महतरा र सुनिल श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

दुई महिनासम्म सञ्चालन भएको पर्यटक प्रहरी भाषा प्रशिक्षण कक्षका लागि इमर्जन म्याण्डरिन एकेडेमीले छुट्टै पाठ्यक्रम बनाएर अध्यापन गराएको एकेडेमीका सञ्चालक प्रमिला तामाङले जानकारी दिइन्। 

जेठ ३२, २०८० बिहीबार ११:२६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।