लगातार तीन अभ्यास खेल हारेको नेपाल आज ओमानसँग भिड्दै

लगातार तीन अभ्यास खेल हारेको नेपाल आज ओमानसँग भिड्दै

काठमाडौं : लगातार तीन अभ्यास खेल हारेको नेपालले आज ओमानसँग अन्तिम अभ्यास खेलमा प्रतिस्पर्धा गर्दैछ।

एकदिवसीय विश्वकप छनोटअघिको यस अन्तिम वार्मअप खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजे सुरु हुनेछ।

दक्षिण अफ्रिकामा तयारीका दौरान नेपालले दुई वटा अभ्यास खेल खेलेको थियो। जसमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो। दुवैमा नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकेको थिएन।

यसपछि विश्वकप छनोटका लागि जिम्बावे गएको नेपाली टिम पहिलो आधिकारिक अभ्यास खेलमा पनि यूएईसँग ३ विकेटले पराजित भएको थियो। यूएईविरुद्ध नेपालले २७५ रन बनाए पनि स्कोर डिफेन्ड गर्न सकेन।

ओमान भने जिम्बावेसँगको अभ्यास खेलमा २८ रनले पराजित भएको थियो। 

यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपका लागि २ टिम छान्न यो छनोट प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा आयोजक जिम्बावे र वेस्टइन्डिजसँगै अमेरिका र नेदरल्यान्ड्स छन्। समूह ‘बी’ मा भने श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, यूएई, र ओमान रहेका छन्।

दुवै समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने छन् भने सुपर सिक्सबाट फाइनलमा पुग्ने २ टिमले विश्वकप खेल्न पाउने छन्।

जेठ ३२, २०८० बिहीबार १०:५७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।