प्रस्तावित प्रधानन्यायाधीश कार्की भन्छन् - ‘म इच्छा विपरीत सर्वोच्चको न्यायाधीश बनें’

प्रस्तावित प्रधानन्यायाधीश कार्की भन्छन् - ‘म इच्छा विपरीत सर्वोच्चको न्यायाधीश बनें’

काठमाडौं : प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीले आफू इच्छा विपरीत सर्वोच्चको न्यायाधीश बनेको बताएका छन्।

आज (बिहीबार) बिहानदेखि सुरु भएको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले प्रधानन्यायाधीशको आग्रहमा मात्र आफू सर्वोच्चको न्यायाधीश नियुक्त भएको बताए।

‘सर्वोच्च अदालतको न्यायाधीश बन्ने प्रस्ताव आयो। तर त्यतिबेला मेरो आफ्नो जाने मन थिएन। तत्कालीन प्रधानन्यायाधीशले आउनुहोस्, जिम्मेवारी निर्वाह गर्नुहोस्, बाहिर बसेर मात्र हुँदैन भन्नुभयो। त्यसपछि मैले त्यसलाई सहर्ष स्वीकार गरें,’ उनले भने।

यसपछि आफूले इमानदार भएर राष्ट्र निर्माणको लागि काम गरेको बताए। साथै उनले परिस्थितिब्स कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी निर्वाह गरेको पनि बताए।

उनले अदालत, उच्च अदालत र जिल्ला अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था सुरु गरेपछि विगतको भन्दा ६० प्रतिशतले अनियमितता घट्नुका साथै अदालत प्रतिको आलोचना पनि कम भएको उल्लेख गरे।

‘पेसी तोक्न गोलाप्रणाली लागू भइसकेपछि मैले शीर्ष कानुन व्यवसायीहरूसँग कुरा गर्दा अहिले कस्तो भइरहेको छ भनेर सोध्ने गरेको छु। उहाँहरूले अनियमितता ६० प्रतिशतसम्म घटेको बताउनुभएको छ,’ उनले भने।

जेठ ३२, २०८० बिहीबार ०९:४८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।