प्रदेशकै नमुना पर्यटकीयस्थल बनाउन खोजिएको घण्टाघर पार्कमा नगरपालिका र व्यवसायीबीच विवाद

प्रदेशकै नमुना पर्यटकीयस्थल बनाउन खोजिएको घण्टाघर पार्कमा नगरपालिका र व्यवसायीबीच विवाद

सुर्खेत : वीरेन्द्रनगरस्थित घण्टाघर पार्कमा नगरपालिका र व्यवसायीबीच विवाद चुलिएको छ।

वीरेन्द्रनगर नगरपालिकाले  पार्कलाई व्यवस्थित बनाउन पर्खाल निर्माणको काम सुरु गरेको छ। धेरै वर्ष पहिला निर्माण गरेको पर्खाल कमजोर भई ठाउँमा ठाउँमा भत्किएपछि नयाँ पर्खाल बनाउन नगरपालिकाले काम थालेको हो।

निर्माण व्यवसायीसँग भएको सम्झौताअनुसार नयाँ पर्खाल निर्माण लागि नगरपालिकाले साइट क्लियर गर्नुपर्ने भएपछि बुधबार पुरानो पर्खाल भत्काएको छ। नगर प्रमुख मोहनमाया ढकालसहित टोलीले पार्कको उत्तर-दक्षिण र पश्चिमतर्फको पर्खाल भत्काएको छ।

नयाँ पर्खाल निर्माणको जिम्मा नमस्ते निर्माण सेवाले पाएको छ। निर्माण व्यवसायीसँग नगरपालिकाले यही जेठ २५ गते सम्झौता गरेको थियो। पिल्लरसहित आकर्षक पर्खाल निर्माण गर्ने सम्झौतामा उल्लेख छ। पहिलो चरणको पर्खाल निर्माणका लागत ४६ लाख रुपैयाँ रहेको छ।

नगरपालिकाले पहिलो चरणमा बिग्रिएको झन्डै १२ वर्षपछि सुर्खेतको घण्टाघरमा नयाँ घडी जडान गरेको थियो।

नगरपालिकाले यो वर्ष घण्टाघर संरक्षण गर्न भन्दै २५ लाख रुपैयाँ छुट्याएको थियो। उक्त बजेटबाट साढे ११ लाख रुपैयाँ खर्च गरी घडी फेरिएको थियो।

खुलामञ्चमा रहेको घण्टाघर २०४४ सालमा चीन सरकारको सहयोगमा निर्माण गरिएको थियो। निर्माणमा त्यतिबेलै ७० लाख ७९ हजार ५ सय ४० रुपैयाँमा खर्च भएको थियो ।

घडी फेरिएपछि दोस्रो चरणमा बाँकी रहेको बजेटबाट घण्टाघर वरपरको क्षेत्र संरक्षण गर्न पर्खालको काम सुरु गरिएको नगर प्रमुख मोहनमाया ढकालले बताइन्।

उनले पर्खालको काम सकिएपछि पार्कभित्रका संरचना व्यवस्थित गर्ने र आकर्षक पार्कका लागि आवश्यक संरचना तयार गरेर नगरपालिकाले नै सञ्चालन गर्ने योजना रहेको जानकारी दिइन्।

‘घण्टाघर पार्कलाई व्यवस्थित बनाउनका लागि हामीले त्यहाँका पुराना संरचना हटाएर नयाँ व्यवस्थापनका साथ अगाडि बढाउने योजना सारेका छौं,’ प्रमुख ढकालले भनिन्, ‘यसलाई नयाँ मोडेलबाट काम गरे प्रदेशकै नमुना पर्यटकीय स्थलका रूपमा विकास गर्ने छौं।’

प्रमुख ढकालले पहिलेको व्यावसायिक सम्झौता सकिएपछि पुनर्निर्माण गर्न लागिएको भन्दै पहिले ठेक्का लिएका व्यवसायीको लागतको हकमा अदालतबाट तोकिएअनुसार नगरले व्यवस्थापन गर्ने बताइन्। 

यता पहिला ठेक्का पाएका व्यवसायी चिन्तामणि शर्माले आफूले उक्त पार्कमा गरेको लगानी पाउनुपर्ने भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए।

अदालतले पनि मंगलबार शर्माकै पक्षमा आदेश जारी गरेको छ। बुधबार शर्माले नगरपालिकाले डोजर लगाएर आफ्ना सामग्रीहरू समेत बेपत्ता बनाएको भन्दै पुनः अदालतमा रिट दायर गरेका छन्।

‘मैले पार्कमा गरेको लगानीका विषयमा नगरसँग पहिला नै कुरा भएको थियो। सम्मानित अदालतले पनि मेरो लगानीको व्यवस्थापन गरिदिन भन्दै आदेश जारी गर्यो,’ व्यवसायी शर्माले भने, ‘मलाई जानकारी नै नदिई अदालतको निर्णयलाई अपमान गर्दै त्यहाँ डोजर लगाइयो। करोडौंका सामग्रीसमेत त्यहाँबाट बेपत्ता पारिएका छन्। यसको विषयमा समेत फेरि अदालतमा रिट दायर गरेको छु।’ 

आफूसँग भएको सम्झौता कार्यान्वयन गरेर काम अगाडि बढाउन व्यवसायी शर्माले नगरलाई अनुरोध गरेका छन्।

जेठ ३१, २०८० बुधबार २०:४५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।