मध्यराति ड्युटीमा रहेका जवान र हवल्दारमाथि इन्सपेक्टरको टोलीको आक्रमण, पाँच जना घाइते

मध्यराति ड्युटीमा रहेका जवान र हवल्दारमाथि इन्सपेक्टरको टोलीको आक्रमण, पाँच जना घाइते

मेचीनगरः झापाको मेचीनगर नगरपालिकास्थित नकलबन्द सीमा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवलदारहरूलाई सशस्त्र प्रहरी निरीक्षकले निर्घात कुटपिट गरेका छन्। 

इन्स्पेक्टरले कुटपिट गरेपछि मंगलबार राति त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो। 

मध्यराति नकलबन्द पोष्टबाट हतियारसहित पोशाकमा ड्युटी गरिरहेका सशस्त्र प्रहरी वरिष्ठ हवलदार पासाङ तामाङ, सशस्त्र प्रहरीका हवलदारहरू गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवलदार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी इन्सपेक्टरको कुटाइबाट घाइते भएका हुन्। 

उनीहरूलाई मध्यरातमा सादा पोशाकमा खटिएका सशस्त्रका इन्स्पेक्टर नभप्रभात राईसहित तीन जनाको टोलीले मेची नदीको पानीमा डुबाउँदै बाँसको भाटैभाटाले निर्घात कुटपिट गरेका स्थानीयले देखेका थिए। 

इन्स्पेक्टर राईसहित टिमको कुटपिटबाट सहायक प्रहरी हवल्दार तामाङ र प्रहरी जवान राजवंशी घाइते भएका छन्। राजवंशीको ढाडमा चोट लागेको छ भने तामाङको शरीरभरि नीलडाम बसेको छ।

त्यस्तै कार्की र राईको दायाँ हातमा गम्भीर चोट लागेको बताइएको छ। घाइतेहरूको धुलाबारीस्थित आम्दा मेची अस्पतालमा उपचार भइरहेको छ।

सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले सादा पोसाकमा इन्स्पेक्टर राई, सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बास्तोलालालाई खटाएको थियो। 

उक्त नाकाबाट तस्करी भएको भन्दै ड्युटीमा खटिएका पोशाकका सशस्त्रका हवलदारहरूलाई सार्वजनिक स्थलमा उनीहरूले निर्घात कुटपिट गरेका स्थानीयले देखेका बताएका छन्। 

उक्त घटनापछि आक्रोशित बनेका त्यहाँका स्थानीयले कुटपटिमा उत्रिएका सादा पोशाकका इन्स्पेक्टर राईसहित तीनै जनालाई कडा कारबाही माग गर्दै मेची खोलामै नाराबाजीमा उत्रिएका थिए।

इन्स्पेक्टर राईसहित तीनै जनालाई बीओपी नकलबन्दा लैजाने क्रममा स्थानीयले होहल्ला गर्दै घटनास्थलमै घेरा हालेर रोक्न खोजेका थिए।

सोही क्रममा स्थानीयले सशस्त्रको बीएबी ३२४६ नम्बरको गाडीसमेत तोडफोड गरेका थिए।

घटनाले उग्ररुप लिएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल तत्काल घटनास्थल पुगेका थिए।

सशस्त्र प्रहरीले घटनालाई साम्य बनाउन करिब एक सय सशस्त्र प्रहरी परिचालन गरेका थियो। एसपी अर्यालले दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि मात्र अवस्था सामान्य बनेको थियो।

बराह बाहिनीबाट खटिएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बास्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापामा झिकाएर विभागीय कारबाही प्रक्रिया अघि बढाएको एसपी अर्यालले जानकारी दिएका छन्।

घटनाबारे थप बुझ्न बराह बाहिनी मुख्यालय सुनसरीका एसपी विक्रम हुमागाईंको नेतृत्वमा छानबिन समिति गठन भएको र प्रतिवेदन तयार भएपछि विभागीय कारबाही हुने समेत एसपी अर्यालले जानकारी दिए।

जेठ ३१, २०८० बुधबार १५:१५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।