पाँच ठाउँमा सशस्त्रको विपद् व्यवस्थापन बेस स्थापना, २ ठाउँमा तयारी

पाँच ठाउँमा सशस्त्रको विपद् व्यवस्थापन बेस स्थापना, २ ठाउँमा तयारी

काठमाडौँः सशस्त्र प्रहरी बल नेपालले देशका विभिन्न ५ ठाउँमा विपद् व्यवस्थापन बेस स्थापना गरेको छ भने अन्य २ ठाउँमा १-२ दिन भित्र नै स्थापनाको तयारी गरिएको छ। 

यसअघि धादिङको आदमघाट, बाराको निजगढ र धनकुटाको मुलघाटमा रहेको सुरक्षा बेसलाई विपद् व्यवस्थापन बेसको रुपमा स्तरोन्नति गरिएको छ।

यस्तै म्याग्दीको वेनीमा रहेको आश्रित गुल्म तथा डडेलधुराको अमरगढीस्थित नम्बर ५२ गुल्ममा अट्याच रहने गरी विपद् व्यवस्थापन बेस स्थापनमा गरिएको हो।

आदमघाट र निजगढमा सशस्त्र प्रहरी नायव उपरीक्षक र वेनी, मुलघाट तथा अमरगढीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक सामानसहित विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति तैनाथ गरिएको छ। 

साथै  दाङको भालुवाङ र सुर्खेतको चिप्लेमा १-२ दिन भित्रै बेस स्थापनाको तयारी गरिएको छ। भालुवाङमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ ज्वालामाई गणमा अट्याच रहने र  सुर्खेतको चिप्लेमा यसअघि नै रहेको सुरक्षा बेसलाई स्तरोन्नति गरी विपद् व्यवस्थापन बेस स्थापना गर्ने तयारी गरिएको हो। 

स्थापना भइसकेका विपद् व्यवस्थापन बेसमा आवश्यक सामान र जनशक्ति तैनाथ गरिसकेको छ भने अन्य तीन ठाउँमा पठाउने प्रक्रियामा छ। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उत्पादित जनशक्तिलाई ती ठाउँमा परिचालन गरेको हो।

यसबाट तत्काल मनसुनजन्य प्रकोप तथा अन्य अवस्थामा हुने विपद्लाई समेत न्यूनीकरण गर्न र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहज हुनेछ।

जेठ ३१, २०८० बुधबार १४:१५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।