समाजवादी मोर्चा त बन्छ-बन्छ, नयाँ नेकपा पनि बनाउँछौं : प्रधानमन्त्री दाहाल

समाजवादी मोर्चा त बन्छ-बन्छ, नयाँ नेकपा पनि बनाउँछौं : प्रधानमन्त्री दाहाल

दाङ : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन्।

माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरि पहलकदमी लिइएको बताएका हुन्।

उनले भने, ‘फेरि एकताका लागि पहल गर्नुपर्नेछ। समाजवादी मोर्चाको दस्तावेज टुङ्ग्याएका छौँ। हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ। तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ।’

उनले अगाडि थपे, ‘एमालेमा पनि एकताका पक्षधरहरू छन्। उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ। त्यहाँ मुख्य नेतृत्व नै मूल रूपमा एकताको बाधक देखिन्छ।’

फेरि नेकपा बनाउने काेसिस भइरहेकाे भन्दै प्रधानमन्त्री दाहालले जनताको ठूलो हिस्सालाई संगठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न नसकिने बताए।

आफूहरूको क्रान्ति मौलिक र जीवन्त भएको बताउँदै अध्यक्ष दाहालले किताबमा लेखेजस्तो नभएर जीवनको अनुभवका आधारमा क्रान्ति गरेकाे बताए।

उनले भने, ‘लेनिनले क्रान्तिमा दुई कार्यनीतिको कुरा गर्नुभयो। तर, उहाँले लेखेजस्तै दस्तावेजमा भनिएजस्तो क्रान्ति भएन। मौलिक भयो। किताबमा लेखेजस्तो होइन, जीवनमा भोगेजस्तो क्रान्ति भयो। लेनिनलेे फेब्रुअरी क्रान्तिलाई पुँजीवादी क्रान्तिका रूपमा संश्लेषण गर्नुभयो।’

प्रशिक्षणमा नेपाल सरकारका सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारले गरेका कामबाट कार्यकर्ता र जनतामा उत्साह छाएको बताइन्।कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी, नेताहरू दामा शर्मा, जोखबहादुर महरा लगायत सहभागी थिए।

जेठ ३१, २०८० बुधबार १२:२४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।