राप्रपामा आबद्ध भूतपूर्व सैनिकका हिंस्रक नारा- ‘लेउ-लेउ भूपू खुकुरी लेउ, प्रचण्डलाई छप्काइदेउ’

राप्रपामा आबद्ध भूतपूर्व सैनिकका हिंस्रक नारा- ‘लेउ-लेउ भूपू खुकुरी लेउ, प्रचण्डलाई छप्काइदेउ’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनमा सहभागीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध हिंस्रक नाराबाजी गरेका छन्।

जेठ २७ र २८ गते काठमाडौंमा सम्पन्न संगठनको एकता प्रथम महाधिवेशनमा सहभागी पूर्व सैनिकहरूले प्रधानमन्त्री दाहालविरुद्ध हिंस्रक नाराबाजी गरेका हुन्।

उनीहरू प्रधानमन्त्री दाहालले अहिलेको व्यवस्थामा ल्याएर देशलाई कंगाल बनाएको भन्दै राजसंस्थाको पक्षमा वकालत गरेका थिए।

उनीहरूले ‘देश बेच्न पाइँदैन,’ ‘लेऊ–लेऊ भूपू खुकुरी लेऊ, प्रचण्डलाई छप्काइदेऊ’ भन्दै नाराबाजी गरेका थिए।

महाधिवेशनले अवकाशप्राप्त महासेनानी प्रकाशजङ्ग कार्कीको अध्यक्षतामा ११ पदाधिकारी र ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको थियो।

कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएर नवनिर्वाचित कार्यसमितिलाई बधाई र शुभकामनासमेत दिएका थिए।

जीवनको लामो समय देशभक्तिपूर्ण सैनिक सेवामा बिताएका अवकाशप्राप्त सैनिकले बाँकी जीवन देश र समाजका लागि समर्पित गर्नुपर्ने बताएका थिए।

जेठ ३१, २०८० बुधबार ११:१४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।