कार्कीविरुद्ध उजुरी दिएका २९ उजुरीकर्तालाई सुनुवाइ समितिमा बोलाइँदै, भोलि अनुमोदन गर्ने तयारी

कार्कीविरुद्ध उजुरी दिएका २९ उजुरीकर्तालाई सुनुवाइ समितिमा बोलाइँदै, भोलि अनुमोदन गर्ने तयारी

काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइमा क्रममा परेको उजुरीको सम्बन्धमा छलफल गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ।

बैठकमा कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ताहरूलाई बोलाएर उजुरीको विषयमा छलफल गरेर टुंगो लगाउने कार्यतालिका रहेको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए।

‘जेठ ३१ गते उजुरीकर्तालाई समिति समक्ष उपस्थित गराई वा अन्य विधिबाट उजुरीको पुष्ट्याई, औचित्यता स्पष्ट पार्नका लागि आमन्त्रण गर्न लागेका हौं’, उनले भने।

यसअघि सोमबार बसेको समितिको बैठकले कार्कीविरुद्ध परेका २९ उजुरी खोली सांसदहरूलाई अध्ययनका लागि दिइएको थियो। बैठकमा सांसदहरूले केही पेशेवर उजुरीकर्ता रहेको भन्दै एक दिनमा टुङ्ग्याएर जानुपर्ने राय राखेका थिए।

बुधबार उजुरीकर्ताहरूसँगको छलफलपछि बिहीबार प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई बोलाएर छलफल सकेर अनुमोदन गर्ने समितिको तयारी छ।

गत वैशाख २५ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो।

संसदीय सुनवाई समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

जेठ ३१, २०८० बुधबार ०७:५१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।