‘कान्छो पत्रकार’को आवरणमा ठगी धन्दा : लाखौँ बुझाएका पीडित पाँच महिनादेखि कोटेश्वरको होटलमा बन्दी

‘कान्छो पत्रकार’को आवरणमा ठगी धन्दा : लाखौँ बुझाएका पीडित पाँच महिनादेखि कोटेश्वरको होटलमा बन्दी

काठमाडौं : अछाम घर भएका मीन अधिकारी भारतमा थिए। दलालले विदेश पठाइदिन्छु भनेपछि उनी हान्निएर सात महिनाअघि काठमाडौं आए। 

अनि सिंगापुर जान भनी १२ लाख रुपैयाँ बुझाए। सिंगापुर जानकै लागि भनी उनी काठमाडौं नै पहिलो पटक आएका थिए। तर पाँच महिना भयो उनी काठमाडौंको होटलमा बन्दी छन्।

कोटेश्वरको ओल्ड दरबार नाम गरेको होटलमा बसिरहेका उनको शरीरमा जन्जिर या डोरी त छैन,  तर निस्किन पाउँदैनन्। कारण, उनले त्यहाँ बसकेको खाएको पैसा तिर्न सकेका छैनन्। 

दलाललाई दिएको १२ लाख उनले लगभग माया मारिसकेका छन्। होटलबाट मुक्ति पाए पनि गाउँबाट ऋण गरेर ल्याएको पैसा कसरी तिर्ने त्यो चिन्तामा छन्। 

पाँच महिनादेखि उनीसँगै अन्य ५ जनाको हालत पनि उही छ। उनीहरू सबैजना एकै घटना, एकै व्यक्तिबाट ठगिएका हुन्। सबैले सिंगापुर जाने सपनामा जनही १२ लाख रुपैयाँ बुझाए। 

पीडितसँग आरोपी सुजन आचार्य

तर अब न उनीहरूसँग त्यो पैसा आउने आश छ न सिंगापुर जाने सपना। यतिसम्म कि उनीहरूले होटलमा बसेको खाएको पैसासमेत तिर्न सकेका छैनन्। त्यहाँ उनीहरूको खर्च साढे तीन लाख रुपैयाँ पुगिसक्यो। 

२८ वर्षीय मीन घरका एक मात्र छोरा हुन्। सानैमा बुवा बितेपछि जिम्मेवारी उनको काँधमा छ। १२ पास गर्नेबित्तिकै भारत छिरेका उनी त्यहाँ गाडी चालकको रूपमा काम गर्थे। महिनाको ४०-५० हजार रुपैयाँ पनि कमाउँथे। तर त्यति कमाइले पाँच जनाको परिवार पाल्न नपुग्ने देखेर उनी सिंगापुर जाने सपना बोकेर काठमाडौँ छिरेका थिए। 

भारतमा जेनतेन काम गरिरहेका उनलाई उनकै भतिज अनिल अधिकारीले आफूहरू सिंगापुर जाने तयारीमा रहेकाले आफूलाई पनि जाने प्रस्ताव गरेको बताउँछन्। 

सिंगापुरजस्तो ठाउँमा महिनाकै ४ लाख रुपैयाँ कमाइ हुने आश देखेपछि उनी पनि मक्ख परे। अनि तुरुन्तै गाउँ फर्किए। खोजखाज गरेर १२ लाख रुपैयाँ जोहो गरी काठमाडौं आए। पैसा जम्मा गर्न उनले गाउँकै एक टुक्रो घडेरी पनि धितो राखेर ऋण लिएका थिए।

‘चार लाख रुपैयाँ महिनामा दिन्छु भनेर लोभ्यायो। १२ लाख त के हो र महिनामा चार लाख कमाउने भनेपछि भन्ने लाग्यो,’ शिर निहुराएर उनले भने। 

मीन ‘सिरियल लुटेरा’ सुजन आचार्यबाट ठगिएका हुन्। केही दिनअघि उनीहरूले (पीडित) राजधानीको गैह्रीधारामा पत्रकारहरूमार्फत गुहार मागेपछि यसबारे पत्ता लागेको हो।

'कान्छो पत्रकार'को आवरणमा ठगी धन्दा, प्रतिव्यक्ति २० लाखसम्म असुलेर सिंगापुरमा अलपत्र

‘पक्राउ नपरेको देख्दा त साच्चिकै ठूलो मान्छे पो हो कि भन्ने लाग्न थालेको छ’, मीन भन्छन्। 

केही दिनअघि उकेराकर्मी उनीहरूलाई होटेलमा भेट्न जाँदा कोही बोल्न चाहिरहेका थिएनन्। सबैको अनुहारको रंग उडेको जस्तै देखिन्थे। सिंगापुर सपनाकै कारण डुबेका उनीहरू दुःखी थिए, मौन थिए। 

आफूहरू सुजन आचार्यबाट ठगिएको भन्दै पत्रकार सम्मेलन गरेर गुहार मागेपछि उनीहरू झनै मर्कामा परेका छन्।

‘सुजन आचार्यबारे त केही खबर आएन। पक्राउ परेन। उल्टै हाम्रा थाहा नभएका आफन्तले समेत फोन गर्न थाले’, उनले भने।

मीन थप्छन्, 'पुलिसदेखि मन्त्रीसम्मका सबै ठूला मान्छे चिनेको छु भन्थ्यो। हामीले यति धेरै ठाउँमा गएर दुःख सुनाउँदा पनि पक्राउ नपरेको देख्दा त साँच्चिकै हो जस्तै लाग्न थालेको छ।’ 

आफूहरूलाई सिंगापुर पुर्याइदिने भन्दै आचार्यले उक्त होटलमा राखेका मीन बताउँछन्, ‘१५ दिनका लागि भनेको ५ महिना बितिगयो। घरबाट फोन आउँदा उठाउन सकेको छैन। घर पनि जान सकेका छैनौँ।’

अहिले उनीहरू होटेलवालाको तनाव खेपेर बसिरहेका छन्।

पीडितहरू बन्दी बनेर बसेको कोटेश्वरस्थित होटल

‘साढे तीन लाख रुपैयाँ तिर्नुछ, होटेलमा मात्र। गएर आफन्त लिई भेट्ने अवस्था पनि छैन। आफैलाई सरम लागिराछ। कसरी मुख देखाउने,’ उनले पीडा सुनाए, ‘एउटा राम्रो ठाउँमा जान्छु भनेर सपना बोकेर आएको। कोटेश्वरको होटेलमा बन्दीजस्तै भएर बस्नुपरेको छ।’ 

उनका अनुसार यसअघि होटेलमा १०/१२ जना पीडित थिए। उनीहरू काठमाडौँमै बस्ने भएकाले गए। टाढा घर हुने भने निस्कन पाएका छैनन्। 

'जति छिटो पैसा दियो, त्यति छिटो उड्छ भन्यो। होला नि त भनेको कुरा भएको दुई हप्तामै पैसा दिएँ। एक लाख मात्र बाँकी हुँदा पनि पूरै नदिएसम्म हुँदैन भन्थ्यो, 'भुइँमा एकोहोरो हेर्दै उनले भने, ‘पछि टिकट पनि पठायो। तर, फेक रहेछ।'

आफूहरूलाई ५ पटकसम्म पीसीआर गर्न लगिएको र छैटौँ पटकमा भने टिकट तयार छ भनी आश्वासन सुनाइएको मीन बताउँछन्। 

'एयरपोर्टमा आउनुस् भन्यो। गएको कोही थिएन। फोन गर्दा आज क्यान्सिल भयो भन्यो। एयरपोर्टसम्म गएर फर्केर आएको सोच्नु न कस्तो लाग्यो होला !’ उनले दुःख सुनाए। 

'त्यतिबेला त्यो (आचार्य) नेपालमै थियो। सबैसँग भेटभाट गर्यो। त्यो त बस्ने पनि यस्तो ठाउँमा हैन के। गोप्य ठाउँहरूमा बस्ने। १०-१५ वटा बाउन्सर राख्ने,' मीनले आफूले थाहा पाएकोसम्म भने। 

आचार्यले आफूहरूलाई काठमाडौंमा ४ वटा अपार्टमेन्ट भएको समेत धाक लगाउने गरेको बताए। 

‘चार वटा गाडी छ भन्थ्यो। हामीले नि सोच्यौं कि ठूलै मान्छे रहेछ। हाम्रो त्यति पैसा खाएर त भाग्दैन होला। यस्तो यस्तो कुरा गर्यो कि मैले मात्र हैन जोकोहीले पनि उसलाई शंका गर्दैन’, मीनले आफू ठगिएको कारण खुलाए। 

सिंगापुरमा पीडितसँग आरोपी सुजन

सिंगापुर जानी सबै पैसा बुझाएको तीन महिनापछि मात्र आफूले आचार्यलाई भेटेको मीन बताउँछन्। 

उनीहरू दुईबीच सम्पर्क गराउने र कुरा मिलाउने सबै काम भने उनका (मीन) भतिजा अनिलले गरिदिएका थिए। 

अनिल आफै पनि ती ठगिएकामध्ये एक हुन्। 'फसाउन अलि धेरै मान्छे चाहिएको रहेछ। भतिज आफू फसेको भन्ने उसलाई पनि थाहा भएन। आफन्तलाई पनि यस्तो छ भन्दै सिंगापुरको आश देखायो नि। हामीले पनि आफ्नै मान्छेले भनेपछि पत्यायौं,’ मीनले भने, ‘एयरपोर्टबाट बारम्बार फर्किनुपर्यो।’ 

एकै गाउँका ६ जना पीडित

मेल्लेख गाउँपालिकाका मात्र यस घटनाबाट ६ जना पीडित भएका छन्। 'म त नयाँ पीडित भएछु नि। त्यसअघि हामीमध्येकै केही साथी त सिंगापुर गएको पनि त हो। त्यो देखेपछि हाम्रो पनि पालो आउँछ भन्दै शंका नगरी बस्यौं नि,’ मीन भन्छन्, 'अस्ति पत्रकार सम्मेलन गरेपछि पो थाहा भयो त्यो मान्छे त लुटेरा रहेछ भनेर।' 

आचार्य हीराकाण्डमा मुछिएका पनि उनले सुनाए। 

सँगै बसे पनि निकैबेरपछि प्रेम साउद पनि बोले। उनी पनि मल्लेखकै हुन्। पढ्न नपाएका ३२ वर्षीय प्रेम पनि सानै उमेरमा भारत छिरेका थिए। उनी पनि यही चक्करमा लागेर १० वर्षदेखि भारतमा होटलको जागिर छाडेर काठमाडौँ आइपुगे। गाउँका सबै साथी सिंगापुर जाने भनेपछि आफू पनि राम्रो कमाइ हुने लोभले काठमाडौँ आएको उनले बताए।

'चार लाखको लालच लाग्यो के गर्ने। हामी सबै छिमेकी हो,’ मीनलाई हेर्दै उनले भने, ’हामी जिउँदाको जन्ती मर्दाको मलामी भन्याजस्तै हो। उनीहरूको कुरा नपत्याउने पनि भएन। केही साथी सिंगापुर पुगिसके भन्ने पनि सुन्यो। मभन्दा चार महिना अगाडिको साथीहरू त ढुक्कसँग घुमेर बसिराथ्यो। त्यस्तो शंका नै लागेन।’

प्रेमले पनि चार पटक पीसीआर गरेको सुनाए। उनी दुई पटक त परिवारसहित टीका, खादा ओढेर एयरपोर्ट नै पुगेका थिए। तर फर्कनुपर्यो। अनि तेस्रो पटकमा भने उनी साँच्चिकै उडे पनि। 

उनी गएपछि परिवारसँगै अन्य साथीहरू पनि खुशी भए। त्यसपछि अरू पनि सिंगापुर उड्नेमा विश्वस्त भए। तर, प्रेम एक हप्तामै फर्किए। 

पीडितहरूले पटकपटक सुजन आचार्यलाई बुझाएको पैसाको विवरण

'तेश्रो पटकमा सिंगापुर पुगेँ। त्यहाँको होटेलहरू देखायो। यो हाम्रो हो भन्यो। एक हप्ताभित्र सबै ठाउँ घुमायो। सबै मेरो हो भन्यो। आश्वाशन देखायो त। मलाई नि लाग्यो हुन्छ होला।’ 

तर हप्ता दश दिनमा आफूलाई नेपाल नै ल्याएर छाड्दिएको प्रेम दुःखेसो गर्छन्। 'खै के एस पास आएन। त्यो लिन सम्बन्धित व्यक्ति नै नेपाल आउनुपर्ने भयो भन्यो। केके बहाना बनायो। होला नि त भनेर म फर्किएँ। फर्केपछि ४ महिना कोटेश्वर अनि ३ महिना बौद्धको होटेल बसाल्यो। अनि यता बसेको अहिले ५ महिना भयो,' प्रेमले भने। 

उक्त होटलमा उनी बसेको भने १० महिना भयो। 'आज हुन्छ भोलि हुन्छ भनेर केही भएन। त्यसको केही समयपछि फेरि सबैलाई लेटर पठायो। यो भयो भने चै जान पाइन्छ भन्यो। त्यति बेलासम्म पनि शंका गरेनौँ हामीले,’ मोबाइलमा सुजन आचार्यको तस्बिर देखाउँदै उनले भने। 

महिनाको ४ लाखको लोभमा सबै फसे
प्रेमले पनि जग्गा धितो राखेर ल्याएको ऋण आचार्यलाई बुझाएका हुन्। सिंगापुर जाँदा मलेसिया हुँदै गएको र त्यहाँ पनि १४ घण्टा आफू अलपत्र परेको उनको भनाइ छ। 

शेरबहादुर कुँवर श्रममन्त्री हुँदा आचार्यले आफू ठूलो मान्छे र पहुँच पनि ठूलै हुने भन्दै सबै पीडितलाई सँगै खिचेको फोटो देखाउने गरेका उनीहरूले बताए। 

पूर्वमन्त्री कुँवर अछामका प्रतिनिधि हुन्। मन्त्रीसँगै फोटो खिचेको देखाएपछि सोझा उनीहरूले नपत्याउने कुरै भएन।

विभिन्न शीर्षस्थ व्यक्तिहरूसँग आरोपी सुजन आचार्य

'मन्त्रीलाई त झुक्क्यायो भने हामी त के हो र। ठूला ठूला नेताहरू र कलाकारहरूसँगको फोटो देखाउँथ्यो। ठूलो मान्छेको ठूलै पहुँच भन्ने त भयो नि,’ प्रेमले भने, 'एउटा अनपढलाई सिंगापुरमा ४ लाखको कमाइन्छ भनेपछि त अरू के चाहियो। टाउको मात्र हलाएर इमिग्रेसन पास गरेको। धन्न हामी अहिले नेपालमा आएर अलपत्र परेका छौं। विदेशमा गएर अलपत्र परेको भए झन् के हुन्थ्यो ? अब त्यस्तो पो सोचेर बस्नुपरेको छ।’

विभिन्न शीर्षस्थ व्यक्तिहरूसँग आरोपी सुजन आचार्य

मीनलाई वेटर र प्रेमलाई भान्साको काम लगाइदिने भनेर कागज पनि बनाएको देखिन्छ। तर सबै फर्जी। ठगिएका ४० जनामध्ये केहीले आचार्यलाई पैसा दिएको वर्ष दिन पनि पुग्न लागिसक्यो।

तर, सबै पीडितलाई यसरी लोभ्याइयो कि कसैले पनि यतिका समयसम्म शंका नै गरेनन्। कुराहरू पनि उनीहरूले एकअर्कामै सीमित राखे, सिंगापुरमा जाने सपना भने देखिरहे। 

बल्ल एक महिना भयो उनीहरूले आफू लुटिएको थाहा पाएको। त्यसपछि उनीहरूले प्रहरीदेखि वैदेशिक रोजगार विभागसम्म उजुरी दिएका छन्। विभागले पनि आचार्यलाई पक्राउ गर्न प्रहरीलाई भनिसकेको छ। पक्राउको माग गर्दै पीडितहरूले इन्टरपोलसम्म कुरा राखेका छन्। 

पीडितहरूले सुजन आचार्यविरुद्ध विभिन्न ठाउँमा दिएको उजुरी

केही भने होटेलमा बन्दी भएकाले मानवअधिकार आयोग जाने तयारीमा पनि छन्। सबै पीडित आफूलाई थाहा भएसम्मको ठाउँमा गुहार माग्दै छन्। तर नभएको देख्दा मानसिक रूपमा विक्षिप्त पनि हुन थालेका छन्। केही उपाय नलागे आन्दोलनसम्म गर्ने उनीहरूले योजना बनाएका छन्। 

सुजन आचार्यसँगै रकम उठाउने सहयोगी बनेकी विनु शाक्य

‘यदि पक्राउ परिहाल्यो भने हाम्रो हातमा बुझाउनुपर्छ। किनकि हामीलाई अब पैसा त चाहिन्छ। उसको भाइ वैदेशिक रोजगारीको नियन्त्रणमा छ। तिनीहरू सबै जनाको पासपोर्ट रोक्का गरेको छ। फेरि सुजन आचार्य र विनु शाक्यको चाहिँ कसरी रोक्का भएन,’ मीनले भने, ‘उल्टै धम्क्याउँछ। म दुई-तीन महिनापछि आउँछु। कसको पावर कति छ हामी हेर्छु भन्छ।’

आरोपी सुजन र उनका भाइ

पत्रकार सम्मेलनमा पनि एक पीडितको मोबाइल नम्बरमा आचार्यले धम्कीको भाषा प्रयोग गर्दै म्यासेज गरेका थिए।

सुजन आचार्यले पीडितलाई पठाएको म्यासेज

‘झुटो के हो सत्य के हो थाहा छँदै छ। हावाहुरीमा नाटकै बढी गरे गरिराखून शुभकामना छ’, आचार्यले म्यासेज गरेका थिए। 

अहिले भने उनीहरूलाई होटलबाट निस्कनु छ जसरी पनि। 

जेठ ३१, २०८० बुधबार ०९:४८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।