टप फाइभ : बाल अस्पतालको बेहाल, धम्क्याएर शुल्क घटाउँदा नेपाल एयरलाइन्सलाई ९० करोड घाटा

टप फाइभ : बाल अस्पतालको बेहाल, धम्क्याएर शुल्क घटाउँदा नेपाल एयरलाइन्सलाई ९० करोड घाटा

काठमाडौं : मंगलबार संघीय राजनधानीमा खासै राजनीतिक गतिविधि नभए पनि प्रदेशतिरको माहोल भने गर्मायो।

यसदिन सुदूरपश्चिम प्रदेशले नीति तथा कार्यक्रम बहुमतले पारित गर्दा उता मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाए। उनलाई प्रतिपक्षी एमालेसहित सबै दलले विश्वासको मत दिए।

यस्तै नागरिकताको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका मोरङका एक युवाले माइतीघर मण्डलामा आत्मदाहको प्रयास गरे। शरीमा पेट्रोल खन्याउँदै गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएर अस्पताल पठायो।

यता सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको सशस्त्र युद्धका बालसैनिक प्रयोग गरेको विषयको मुद्दामा सर्वोच्चले दुईजना विरुद्ध कारणदेखाऊ आदेश जारी गर्दै अग्राधिकार दिन निर्देशन दियो।

उता नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार पूर्वगृहमन्त्री बालकृष्ण खाणँको तर्फबाट १० जना वकिल थुकछेक बहसमा सहभागी भए। १० जना वकिलले बहस गर्दा पनि सकिएन। यो मुद्दामा सरकारी वकिलको कार्यालयका वकिललाई न्यायाधीशले बिहीबारका लागि जवाफी बहसका लागि तयार रहन निर्देशन दिए।

अब लागौं टप फाइभतर्फः
उकेराले मंगलबार विहान अंग्रेज फौज पराजित भएको बुटवलको जीतगढीमा राखिएको ग्रेटर नेपालको नक्सा कंक्रिटको संरचनाभित्र हराएको समाचार प्रकाशित गर्यो।
पूरा समाचारः महिनौंअघि जीतगढीमा राखिएको ‘ग्रेटर नेपाल’को नक्सा कंक्रिटका संरचनाभित्र ‘गुमनाम’

दिउँसो उकेराले स्वास्थ्यमन्त्री नियुक्त भएपछि कान्ति बाल अस्पताल सुधार्नका लागि दिइएको निर्देशन कार्यान्वयनमा नआएको विषयमा तस्बिरहरूसहित समाचार लेख्यो। मंगलबार उकेराकर्मी अस्पताल पुग्दा बिरामी सन्तान जँचाउने पालो कुरेका हुन् कि टिकट कुरेका आमाहरू हुन् उनीहरू काखमा सन्तान बोकेर चिसो भुईंमा बसिरहेका थिए।
पूरा समाचारः कान्ति अस्पतालको चिसो भुईंमा आमाहरू, काखमा बिरामी सन्तान (फोटो फिचर)

दिउँसो नै उकेराले नियमित स्तम्भ चौथो अंगमा सांसद् एवं एमाले नेतृ विन्दा पाण्डेको अनुभव समेट्यौं। उनले नेपाली मिडियाका विषयमा आफ्ना भोगाइ र वर्तमान अवस्थाबारे सचित्र वर्णन गरिन्।
पूरा समाचारः व्यक्ति, पद र सम्बन्धकेन्द्रित छन् नेपाली मिडिया

साँझपख उकेराले नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको दबाबमा नेपाल एयरलाइन्सलाई ९० करोड घाटा भएको समाचार प्रकाशित गर्यो। प्राधिकरण महानिर्देशक अधिकारीले निगमका अध्यक्षलाई धम्क्याउँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले विदेशी एयरलाइन्स मार्फत लिँदै आएको ग्राउण्ड ह्याण्डलिङ (भूमिस्थ प्रबन्ध) शुल्क घटाउन लगाएको उकेराले प्रमाण फेला पारेको छ।
पूरा समाचारः प्राधिकरणका महानिर्देशक प्रदिपले धम्क्याएर ग्राउन्ड ह्यान्डलिङ शुल्क घटाए, नेपाल एयरलाइन्सलाई वार्षिक ९० करोड घाटा

राति उकेराले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सम्पूर्ण संसदले विश्वासको मत दिएको समचार प्रकाशित गर्यो। मंगलबार जनकपुर धामम भएको मतदानमा उनलाई संसदमा उपस्थित १०३ सांसद्ले मत दिएका हुन्।
पूरा समाचारः मधेशका मुख्यमन्त्रीलाई एमालेसहित सिंगो सदनकै विश्वासको मत

जेठ ३०, २०८० मंगलबार २२:२०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।